Logo

‘छोरा परिवारकै खुशी थियो, कुन पापीले आगो लगाइदियो’



कखरा संवाददाता


२५ पुस, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२ कार्की गाउँकी सरिता कार्की (सरस्वती) को परिवार शोकमा डुबेको छ । बुढेसकालको सहारा हुर्किएको जेठो छोरा सन्तोषको हत्यासँगै उनको परिवार शोकमा परेको हो ।

‘बुढेसकालको सहारा छोराको उल्टै दाहसंस्कार गर्नु पर्दा पलपल मरेर बाँचिरहेका छौँ,’ आमा सरिता र बुबा शरण भन्छन्– ‘मारेर आगो लगाइदिने मेरो छोराको हत्यारा कहिले पत्ता लाग्ला ?’ घर नजिकैको जंगलमा हत्या गरेर आगो लगाई दिएको अवस्थामा छोराको शव फेला पारेको आमा सरिता बताउँछिन् ।

होशमा आउँदा रुने उनी छिनमै बेहोस हुन्छिन् । छोराको शव भेट्दा उनले अत्तालिदै अन्तिम पटक हेरेकी थिइन् । ’मेरो छोरा परिवारकै खुशी थियो, उनलाई आगो लगाउँदा मेरो मन खरानी भयो,’ उनले भनिन् ।

गत २४ मंसिरमा उनी अबेरसम्म घरमा आएनन् । छरछिमेकमा गए होला भनेर खोजी भएन । राति अबेरसम्म घर नआएपछि खोजी भयो, तर भेटिएनन् । आफन्त, साथीभाइ इष्ट मित्र सबैसँगै सोध्दा सन्तोषको अत्तोपत्तो लागेन ।

घर परिवार, छिमेक आफन्तसँग सन्तोषको सम्बन्ध राम्रो थियो । चार वर्षदेखि गाडीका सहचालक भई काम गर्दै आएका थिए । डेढ वर्षअघि गाडी लाइनमा काम गर्ने मान्छेहरुसँग झगडा भएपछि भागेर छोराले ज्यान बचाएको बुबा शरणले बताए । उनी दसैदेखि घरमा नै बस्दै आएका थिए । हराएका सन्तोषको शव १५ दिनपछि ९ पुसमा घर नजिकै जंगलमा जलेको अवस्थामा शव भेटियो ।

इलाका प्रहरी कार्यालय गजुरीबाट घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर काठमाडौंस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि शव पठाए । पोष्टमार्टम रिर्पोटमा हत्या गरेर आगो लगाएको अस्पतालले पुष्टि गरेको शरणले बताए । उनले भने, ‘जसले मेरो बुढेसकालको सहारा खोस्यो । मेरो त खुशी लुट्यो, उसको कारबाही नभएसम्म छोराको आत्माको आत्माले शान्ति पाउँदैन ।’

’छरछिमेकी भनेको अ‍ैचोपैचो सुख दुःखमा काम लाग्ने सारथी हो, यति ठूलो बज्रपात हुनुमा छिमेकीको हात छ भन्ने कसरी सोच्न सक्छु ?,’ सन्तोषका बुवाले भने, ‘डेढ वर्ष पहिले छोरासँग भएको झगडाले हो भनौं भने घर नजिक ल्याएर हत्या किन गथ्र्यो ?’ नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्