Logo

आगो निभाउन ३ हजार सेना परिचालन



कखरा संवाददाता


२० पुस, अष्ट्रेलिया । आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताउनु भएको हो । उहाँका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उहाँले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो ।

‘धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,’ उहाँले भन्नुभयो । उहाँले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिनुभयो ।

झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ ।

यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए । अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो ।

आगलागीका कारण अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भएको र अरु २८ जना बेपत्ता भएको जनाइएको छ । देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्