Logo

कांग्रेसमा उम्मेद्वार छान्ने जिम्मा पदाधिकारीलाई



कखरा संवाददाता


१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभाको उम्मेद्वार छान्ने अधिकार पदाधिकारीलाई दिने निर्णय गरेको छ ।बिहीबार पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थितिमा बसेको बैठकले आइबातार हुने मनोनयनका उम्मेद्वारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो ।

बैठकले माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि अरु दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । दुई नम्बर प्रदेशमा कांग्रेस र राजपाबीच चुनाव तालमेलका लागि छलफल चलिरहेका बेला केन्द्रीय समितिले नै चुनावी तालमेल गर्न अनुमति दिएको हो ।

संस्थापन पक्षले सहमतिविनै महाधिवेशनको मिति तय गरेको, विभागको संख्या बढाएको विरोधमा पौडेल पक्षले लगातार बैठक बहिस्कार गर्दै आएको छ। बैठकले राष्ट्रवादी कांग्रेस पार्टीका नेता डिबी त्रिपाठीको निधनमा पार्टीका तर्फबाट समवेदना प्रकट गर्न उपसभापति विमलेन्द्र निधिलाई पठाउने निर्णय गरेको छ ।

सानेपामा केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा पौडेल पक्षधरले भने महामन्त्री शशांक कोइरालको निवास महाराजगञ्जमा छुट्टै बैठक गरेको छ । भेलाले आफू पक्षीय जिल्ला सभापतिहरुको छुट्टै भेला पुस २१ गते काठमाडौँमै बोलाउने निर्णय समेत गरेको छ । देउवाले २ बजे बैठक बोलाए पनि दिउँसो साव ४ बजेसम्म पौडेल पक्ष नआएपछि बैठक सुरु गरेका थिए। माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि आइतबार मनोनयन तोकिएको छ ।

बैठकमा उपसभापति निधिले पौडेल पक्षलाई सहमतिमा ल्याउन भइरहेका प्रयासबारे ब्रिफिङ गरेका थिए। निधि पौडेललाई भेट्न बिहीबार बिहान उनकै निवास बोहोराटार पुगेका थिए। निधिको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पार्टीभित्र सहमतिका लागि प्रयास भइरहेको छ। वरिष्ठ नेता ज्यूले हामी बैठकमा आउँदैनौं निर्णय गर्नुहोस् भन्नुभएको छ।’

बैठकमा देउवा पक्षका केही केन्द्रीय सदस्यहरुले अर्को पक्षलाई पनि सहमतिमा ल्याएर निर्णय गर्न सभापति देउवालाई सुझाव दिएका थिए। १८ जना सदस्यका लागि हुने राष्ट्रियसभा सदस्य छान्न कांग्रेसले प्रदेशगत रुपमा छलफल गरिरहेको छ । एक नम्बर प्रदेशबाट उम्मेद्वार छान्न ज्ञानेन्द्र कार्की, २ नम्बरमा आनन्दप्रसाद ढुंगाना, ३ नम्बरमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान सिंहले संयोजन गरिरहेका छन् ।

त्यस्तै ५ नम्बर प्रदेशको उम्मेद्वार टुंगो लगाउन बालकृष्ण खाँड, कर्णाली प्रदेशको जीवनबहादुर शाही र सुदुरपश्चिम प्रदेशको उम्मेद्वार छान्ने कामको संयोजन एनपी साउदले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्