Logo

आर्तेता आएपछि आर्सनलको पहिलो जित



कखरा संवाददाता


१७ पुस, एजेन्सी । पूर्व खेलाडी मिकेल आर्तेताको प्रशिक्षणमा आर्सनलले पहिलो जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २–० ले स्तब्ध पारेको हो । आसर्नलको जितमा दुवै गोल पहिलो हाफमै भएको हो ।

८ औँ मिनेटमा निकोलास पेपेले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ४२ औँ मिनेटमा सोक्राटस पापास्ताथोपुलसले गोल गरेपछि आर्सनल २–० ले अघि रह्यो पहिलो हाफमा ।दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र आर्सनल विजयी भयो । जितसँगै आर्सनलले सबै प्रतिस्पर्धामा घरेलु मैदानमा पछिल्लो खेलहरुमा जितबिहीन रहँदै आएको अवस्थालाई उल्ट्याएको छ ।

पछिल्लो सात घरेलु मैदानमा खेलमा जितबिहीन रहेको आर्सनलले बुधबार राति भएको खेलमा जित निकालेर त्यसलाई तोडेको हो । जितपछि २१ खेलबाट २७ अंक जोडेको आर्सनल १० औँ स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर युनाइटेड ३१ अंकसहित पाँचौँ स्थानमा छ । युनाइटेड चौथो स्थानको चेल्सी भन्दा पाँच अंकले पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस्