Logo

पौडेल समूहको निष्कर्ष : सभापतिको निर्णयले कांग्रेसको अस्तित्व धरापमा



कखरा संवाददाता


१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकले बहुमतका आधारमा गरेका निर्णयहरु खारेज गर्न माग गरेका छन् ।

शनिबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बसेपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले यसअघि महासमितिले बनाएको विधानलाई समेत उल्ट्याउने निर्णय गरेको भन्दै खारेज गर्न माग गरेका हुन् ।

पौडेल समूहको बहिस्कारकाबीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थपेर २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। महाधिवेशनको मिति एक वर्ष धकेलिनुले पार्टीको वैधानिक हैसियत गुम्ने उनले बताए ।

उनले विधानका महत्वपूर्ण धाराहरु निलम्बन गरिएको भन्दै पार्टीलाई कसरी बचाउने भन्ने चिन्ता बढेको बताए । उनले पार्टीलाई निष्पक्ष र न्यायका आधारमा सञ्‍चालन गर्न र सहमतिको संस्कार विकास गर्न आफूहरु निरन्तर छलफलमै रहेका बेला बहुमतको आधारमा अगाडी बढको भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु विधि र परम्परा विपरित भएको बताए ।

उनले पार्टी खतरामा परेको भन्दै देशभरका कार्यकर्तालाई सजग रहन समेत आग्रह गरे।त्यस्तै सरकारले समेत भ्रस्टाचारका गतिविधि अगाडी बढाएको भन्दै पार्टी र सरकार दुवैसँग एकसाथ लडनुपर्ने बेला आएको बताए ।

उनले गोकर्णको जग्गा, दरबारमार्गको जग्गा लगायतमा भएका सरकारको निर्णयको विरुद्धमा समेत लडने बताए। पार्टीभित्रका समस्या समाधान गर्नका लागि नेता प्रकाशमान सिंहको नेतृत्वमा छलफल भइराखेको अवस्थामा सहमति नगरी एकलौटी निर्णय भएको भन्दै सभापतिको निर्णयले कांग्रेसको अस्तित्व खतरामा परेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्