Logo

स्टार खेलाडीले भरिएको मच्छिन्द्र अपराजित, फ्रेण्ड्सको लगातार हार



कखरा संवाददाता


१० पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम–एनआरटी विजयी भएका छन् । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले फ्रेण्ड्स क्लबलाई ३–० गोलले हरायो ।

मच्छिन्द्रको जितमा पिटर सेगुन, एडेलाजा र रेजिन सुब्बाले गोल गरे । पिटरले २८ औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। एडेलाजाले ५२ र रेजिनल ८५ औँ मिनेटमा गोल गरे ।

मच्छिन्द्रको तीन खेलबाट ६ अंक छ । उसले २ जित र एक बराबरीको नतिजा निकालेको छ । अघिल्लो संस्करणमा पुछारमा रहेका कारण एक अंक घटाइएको हो। फ्रेण्ड्सले लगातार तेस्रो हार ब्यहोरेको हो ।

बुधबार भएको अर्को खेलमा एनआरटीले च्यासल युथ क्लबलाई २(१ गोलले हरायो । एनआरटीको जितमा दर्शन गुरुङ र जुनियर अनगुएन निकेंग्वेले एक एक गोल गरे । च्यासल युथले दोस्रो हाफको इन्जुरी समयमा एक गोल फर्काएपनि हार टार्न सकेन । च्यासलका अमिर श्रेष्ठले गोल गरेका थिए। एनआरटी ७१ मिनेटपछि १० खेलाडीमा सिमित भएपनि च्यासलले फाइदा लिन सकेन ।

एनआरटीको ३ खेलबाट चार अंक छ । उसले प्रतियोगितामा दुई जित र एक हारको नतिजा निकालेको छ । अघिल्लो संस्करणको नतिजाका आधारमा २ अंक घटाइएको हो । च्यासलको पनि तीन खेलबाट चार अंक छ। उसले प्रतियोगितामा पहिलो हार ब्यहोरेको हो ।

प्रतिक्रिया दिनुहोस्