Logo

आज ८:४२ देखि सूर्य ग्रहण, के गर्नु हुन्छ के हुँदैन ?



कखरा संवाददाता


१० पुस, काठमाडौं । आज बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा शुरू हुने ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिणको बीचमा पुगेर मोक्ष हुनेछ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एसियाका सबै तथा हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकालगायत विश्वका अधिकांश ठाउँबाट देख्न सकिने जनाइएकाे छ ।

नेपाली आकाशमा देखिने यो ग्रहण खगोलीय अध्ययनका लागि महत्वपूर्ण अवसर मानिएको छ । खगोलका पिण्ड र तिनको गति बुझ्नका लागि ग्रहण महत्वपूर्ण दृश्य हुने खगोलविद् बताउँछन् । तर ग्रहण लाग्दा आकाशबाट संवेदनशील किरण आउने हुँदा नांगो आँखाले ग्रहण नहेर्न विज्ञहरुले आग्रह गरेका छन् ।

ग्रहण लाग्नु केही समय अगाडिदेखि ग्रहण बार्नुपर्ने धार्मिक मान्यता रहेको छ । जसअनुसार आज (बुधबार) राति ८ः४२ देखि सुतक लाग्ने छ । यो समयमा बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाबाहेक अरूका लागि भोजन निशेध हुने ज्योतिषीय मान्यता छ ।

यस अवधिमा अर्थात सुतकको समयमा मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने लगायतका कार्य गर्न नहुने बताइएको छ । समितिका अनुसार यसअवधिमा देवताको मूर्ति तथा तुलसीको वृक्ष स्पर्शसमेत गर्न मिल्दैन । यसपटकको सूर्य ग्रहण मूल नक्षत्रमा परेकाले अबको ६ महिनसम्म कुनै पनि शुभकार्य गर्न नहुने ज्योतिषीय मान्यता रहेको छ ।

ज्योतिषीय मान्यता अनुसार राशि अनुसार सूर्य ग्रहण नजर गर्दा लाभ वा हानी हुनसक्नेछ । १२ राशिका लागि सूर्य ग्रहणको फल यस प्रकार बताइएको छ ।

मेषः मानहानी
वृषः कष्ट
मिथुनः स्त्रीपीडा
कर्कटः सुख
सिंहः चिन्ता
कन्याः व्यथा
तुलाः श्रीप्राप्ति
वृश्चिकः क्षति
धनुः घात
मकरः खर्च
कुम्भः लाभ
मीनः सुखदायी

प्रतिक्रिया दिनुहोस्