Logo

विमलसहित चार फुटबलरकाे निलम्बन फुकुवा



कखरा संवाददाता


९ पुस, काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)ले अनुशासन विपरित काम गरेको भन्दै निलम्बनमा परेका चार फुटबलरमाथिको प्रतिवन्ध घटाएको ।

स्ट्राइकर विमल घर्तीमगरसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीमाथि लागेको निलम्बन २७ दिन कम गरिएको हो । एन्फाको अनुशासन कमिटीको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो ।

एन्फाले अनुशासन कमिटिको निर्णय भएको मितिले मंसिर २७ गतेबाट लागु हुने गरि कारबाही गरिएको बताएको थियो । तर, अहिले एन्फाले कारबाहीको अवधि घटाउँदै कात्तिक ३० गतेबाट प्रतिबन्धको समय गणना गरिने नयाँ निर्णय गरेको हो ।

एन्फाले अनुशासन विपरित गतिविधि गरेको विमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिन र बाँकी दुई जनालाई ४५ दिन निलम्बन गरेको थियो ।

विश्वकप छनोटको कुवेतविरुद्ध हुने खेलका लागि भुटान जानुअघि विमल र दिनेशसहित अञ्जन विष्ट र सन्तोष तामाङ नाइट क्लब गएको पाइएपछि उनीहरु चारै जनालाई टोलीबाट हटाइएको थियो ।

गत नोभेम्बर १६ तारिखमा एन्फाले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न अनुशासन कमिटीलाई निर्देशन दिएको थियो । चारै जना खेलाडीलाई जनही ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको थियो । उनीहरुले १३ औं साग खेलकुद समेत गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्