Logo

‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ कार्यान्वयन गर्नेमा नेतृत्व पछि हट्दै



कखरा संवाददाता


५ पुस, काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताकै बेला देखि उठाएको एक मुख्य माग हो, ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी वैधानिक व्यवस्था कार्यान्वयन गर्नु पर्ने।’

त्यो माग पूरा गर्न पार्टीभित्र ठूलै संघर्ष गरेपनि नेपालले उपलब्धि हात पारेका छैनन्। अध्यक्ष ओलीले नेता नेपाललाई एक्लाउनुमा त्यो माग पनि केही हदसम्म कारक बनेको छ। एक वर्षपछि आयोजना गरिएको स्थायी कमिटी बैठकमा पनि नेपाल र उनको समूहले त्यो माग जोडदारका साथ उठायो ।

त्यो माग कार्यान्वयनको निर्णय नेतृत्वले गर्ने सम्भावना लगभग टरेको छ। तर नेपाल लगायत उनी पक्षधर सदस्यहरुले आफ्नो माग यथावत रहने र हालसम्मका केन्द्रीय सचिवालले त्यससम्बन्धी गरेका निर्णय नमान्ने अडान राखेका छन्।

पार्टीका एक सदस्यका अनुसार बिहीबारको बैठकमा स्वयं नेपालले त्यो माग दोहोर्‍याएका थिए भने शनिबारको बैठकमा अष्लक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त लगायतले त्यो माग कार्यान्वन हुनुपर्नेमा जोड दिएका छन्।

नेपालले बारम्बार उठाउँदै आएको अर्को विषय हो, ‘पार्टीलाई विधी पद्धतिमा चलाउनु पर्दछ।’ त्यस मामिलालाई लिएर अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिलाई स्थायी सदस्यहरुले भेटेको सम्बन्धमा स्पष्टीकरण नै सोच्नुलाई त्यो लागू गर्न थालेको नेपाल पक्षले मानेको छ।

त्योसँगै प्रचण्डले आगामी दिनमा पार्टी विधि(पद्धति अनुसार चलाइने छ भन्ने आवश्वासन दिनुलाई सदस्यहरुले सकारात्मकरुपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्