Logo

नेपाल ट्रस्ट सम्पत्ति लिज प्रकरणमा ईश्वर पोखरेललाई र्‍याखर्‍याख्ती



कखरा संवाददाता


५ पुस, काठमाडौं । पूर्वराजपरिवारका सदस्यहरुको सम्पत्ति जफत गरी निर्मित नेपाल ट्रस्टको सम्पत्ति एक व्यापारिक घरानालाई अपारदर्शीरुपमा दिएको भन्दै सत्तारुढ नेकपाभित्रै विरोध सुरु भएको छ।

स्रोतका अनुसार सरकारको अनियमित कार्यको रुपमा नेपाल ट्रस्टको सम्पत्ति ‘यती समूह’लाई दिन थालिएको भन्दै सदस्यहरुले बिहीबारको स्थायी कमिटी बैठकमा विरोध गरेका हुन्।

स्थायी कमिटी सदस्य भीम रावललगायतले गोकर्णको २७ सय २३ रोपनीको जग्गाको लिजको समय ६ वर्ष बाँकी छँदै फेरि २५ वर्षका लागि सस्तो मूल्यमा लिजमा दिएको र सरकारलाई ६ अर्ब रुपैयाँ घाटा हुने गरी दरबारबारमार्ग रहेको नेपाल ट्रस्टको जग्गा यती एरलाइन्ससँग जोडिएको संस्थालाई दिएको भन्दै विरोध गरेका हुन्।

बैठकमा ट्रस्टको सम्पत्तीअपचलन भएको र त्यसको जिम्मेवारी तोक्न नेता रावलले माग गरेपछि ट्रस्टका अध्यक्ष एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्यसमा अनियमितता नभएको दाबी गरेका थिए।

तर बीचैमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रावललाई समर्थन गर्दै बोलेपछि मन्त्री पोखरेल अलमलमा परेको स्रोतको दाबी छ।

योसँगै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग त्यो व्यवसायी घरानाको निकट सम्बन्ध र त्यो ट्रस्टका अध्यक्ष पोखरेल आलोचनाका पात्र बन्न थालेका छन्।

स्रोतका अनुसार नेपाल ट्रस्टको सम्पत्ती हिनामिना भएको भन्दै उक्त विषयलाई एजेण्डाका रुपमा बैठकमा उठाउने अन्य सदस्यहरुको पनि तयारी छ।

गोकर्णले लिजमा लिएको नेपाल ट्रस्टको जग्गा ‘यती समूह’लाई दिन आएको प्रस्ताव अस्वीकार गर्दा नेपाल ट्रस्टका अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादललाई ट्रस्टको अध्यक्षबाटै हटाएर पोखरेललाई अध्यक्ष बनाइएको समाचारहरु पनि आएका छन्।

सरकारले संसदलाई छलेर मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी सरकारी सम्पत्ति व्यापारिक घरानालाई दिने निर्णय गरेकोपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्