Logo

मेलबर्न स्टार्सद्वारा सन्दिप लामिछानेसहितको टोली घोषणा



कखरा संवाददाता


४ पुस, काठमाडौं । अस्ट्रेलियामा यो सिजनमा हुने बिग ब्यास लिगको पहिलो खेलका लागि मेलबर्न स्टार्सले १३ सदस्यीय टोली घोषणा गरेको छ । डिसेम्बर २० तारिखका दिन शुक्रबार साँझ गोल्डकोस्टस्थित मेट्रिकन रंगशालामा हुन लागेको पहिलो खेलका लागि मेलर्बन स्टार्सले ब्रिसबेन हिटका विरुद्ध खेल खेल्नेछ ।

ग्लेन म्याक्सवेलको कप्तानीमा रहने उक्त टोलीमा नेपाली क्रिकेटर सन्दिप लामिछाने पनि रहेका छन् । सन्दिप लामिछाने दोश्रोपटक मेलबर्न स्टार्सबाट बिग ब्यास लिग क्रिकेट खेल्नका लागि मेलबर्न आइपुगेका हुन् । यसअघि उनले गत वर्ष आयोजित लिगको आठौं संस्करणमा आठवटा खेल खेलेर ११ विकेट लिन सफल भएका थिए ।

आँखाको शल्यक्रियापछि आफू अभ्यासमा सरिक भएको र मेलबर्न स्टार्सबाट पहिलो खेल खेल्नका लागि तयार रहेको सन्दिप लामिछानेले जानकारी दिएका छन् । पहिलो सिजनमा भन्दा अझै उत्कृष्ट प्रदर्शनका लागि आफू लागि पर्ने पनि सन्दिपले बताए ।

मेलबर्न स्टार्समा अनुबन्ध भएका तीव्र गतिका साउथ अफ्रिकाका बलर डेल स्टेन साउथ अफ्रिकामा भएको टि–२० खेलमा लागेको चोटका कारण पहिलो खेल नखेल्ने पनि मेलबर्न स्टार्सले जनाएको छ ।

स्टार्सका फिजियोथेरापिस्ट टमी सिमसेकले डेल स्टेनको उपचार चलिरहेको र लामो यात्रापछि अस्ट्रेलिया आएका कारणले उनलाई आइतबार हुने खेलका पूर्ण रूपमा फिट हुनका लागि पहिलो खेलमा आराम दिन लागिएको बताए ।

सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्स टोलीका अन्य सदस्यहरूमा हिल्टन क्याटराइट, न्याथन कुल्टर–निल, बेन डंक, पिट ह्याण्ड्सकम्ब, क्लिन्ट हिनक्लिफ, निक लारकिन, निक म्याडिनसन, ह्यारिस राउफ, मारकस स्टोइन्स, ड्यानियल वरल र एडम जाम्पा रहेका छन् । अन्तिम ११ खेलाडी भने खेलअघि मात्रै घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्