Logo

बाबर हायतको अर्धशतकमा चितवनको जित



कखरा संवाददाता


२ पुस, पोखरा । दोस्रो संस्करणको जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि– २० क्रिकेटमा आज सम्पन्न खेलमा चितवन राइनोजले जित हात पारेको छ । पोखरा विरुद्ध ६ विकेटको सहज जित निकाल्दै प्रतियोगिताको पहिलो खेलमा चितवनले विजय सुरुवात गरेको हो ।

टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको चितवनले १ सय ७ रनमा रोक्न सफल भयो । सामान्य लक्ष्य पछ्याएको चितवनले ४ विकेटको क्षतिमा १४ ओभर ५ बलमै भेट्टायो।

बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवनको सहज जित साकार भयो। उनले चितवनलाई ६६ रनको योगदान गरे । बाबरले ४२ बलमा ६ चौका र ४ छक्का हिर्काए । ओपनर ब्याट्सम्यान अनिल साह क्रिजमा टिक्न सकेनन् । रोहन मुस्तफाले चितवनलाई थप ११ रन जोडे ।

खेलमा कप्तान पारस खड्का ४, आरिफ शेख १ रन बनाएर आउट भए । उनीहरु दुवैलाई शरवजीत लड्डाले आउट गराए । चितवनका लागि सन्नी पटेलले अविजित २२ रनको योगदान गरे। उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे। पटेलले बाबरसँग पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

शरद भेषावाकर कप्तानी रहेको साविक विजेता पोखरा पल्टनले उद्घाटन खेलमा जस्तो प्रदर्शन गर्न सकेन। प्रतियोगिताको पहिलो खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको जित हात पारेको थियो ।

आज भएको खेलमा भने कप्तान भेषावकरले ३९ बलमा ४५ रन मात्रै बनाए। कुशल मल्ल १३, आसिफ शेख १०, रवि इन्दर सिंह १० र रशिद खानले १० रन मात्रै जोड्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्