Logo

पार्टीको आन्तरिक किचलो मिलाउन कांग्रेसमा दिनभर दौडधूप



कखरा संवाददाता


२ पुस, काठमाडौं । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नेपाली कांग्रेसका दोस्रा तहका नेताहरु मंगलबार दिनभर दौडधुप गरेका छन्। केन्द्रीय समिति बैठक बुधबार (भोलि) सम्म स्थगित गरेर दोस्रो तहका नेताहरु सहमति जुटाउन लागि परेका हुन् ।

१४औँ महाधिवेशनको कार्यातालिका ल्याउनुपर्ने, पार्टीको विभागलाई पूर्णता दिँदा केही महत्वपूर्ण विभागसहित ४० प्रतिशत हिस्सा पाउनुपर्ने लगायतका माग राखेर वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला पक्षले लगातार केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको छ ।

गत बिहीबारदेखि पौडेल र सिटौला पक्षले बैठक बहिस्कार गरेपछि सोमबार लागि बोलाइएको बैठक बुधबारसम्म स्थगित गरेर नेताहरु सहमति जुटाउन लागि परेका हुन् । मंगलबार पौडेल पक्षीय नेताहरु पार्टी कार्यालय सानेपान नगएपछि सिटौलाको आग्रहमा देउवाले बैठक स्थगित गरेका थिए ।

सभापति शेरबहादुर देउवाले २०७७ फागुनमा पार्टीको १४औँ महाधिवेशन गर्ने कार्यतालिका सहित पौडेल र सिटौला पक्षलाई सहमतिमा ल्याउन मंगलबार पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्ण सिटौलासँग छुट्टाछुट्टै कुराकानी गरेका छन् । त्यस्तै सिंह र सिटौलाबीच पनि कुराकानी भएको स्रोतको भनाइ छ । संस्थापन पक्षले ०७७ फागुनमा १४औं महाधिवेशन गर्ने प्रतस्ताव गरे पनि पौडेल पक्षले केही समय अघि सार्न माग गरेका छन् ।

त्यस्तै २८ वटा विभागलाई ४१ बनाउन पौडेल पक्ष सहमत देखिएको अवस्थामा संगठन, प्रचार, जनसम्पर्क र विदेश विभागमध्ये एउटाको नेतृत्व पाउनुपर्ने अडान राखेको छ । छलफलका क्रममा सहमति नजिक पुगिएको दाबी गरेका छन् ।

सहमतिका लागि दिउँसो पूर्व महामन्त्री प्रकामान सिंहको निवास चाक्सीबारीमा अर्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच कुराकानी भएको थियो । त्यस्तै साँझ उपसभापति निधि पनि सिंहसँग कुराकानी गर्न उनकै निवासमा पुगेका छन् । बैठकमा केन्द्रीय सदस्य हृदयराम थानी र दिलेन्द्रप्रसाद बडू पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्