Logo

बाँकेमा शीतलहर सुरु, नाकामा आगो ताप्ने व्यवस्था



कखरा संवाददाता


२ पुस, काठमाडौं । बाँकेमा शितलहर सुरु भएको छ। एक्कासी तापक्रम घटेपछि चिसो बढेको हो । चिसोले जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगीन स्थानीय बासिन्दा घरआँगनमा आगो तापिरहेका देखिन्छन् । नेपालगञ्ज जमुनाहा नाकामा भारत जाने र फर्किनेका लागि प्रहरीले आगो ताप्ने व्यवस्था गरेको छ ।

दैनिक ठूलो चहलपहल हुने यो नाकामा प्रहरीले गरेको आगो ताप्ने व्यवस्थाले यात्रुहरुले केहीबेर भएपनि तातो हुने मौका पाएका छन् । नेपालगञ्ज नाकाबाट यतिबेला मजदुरीका लागि भारत जाने पहाडी जिल्लाका बासिन्दाको लाम नै लागेको छ । हिउँदे खेतीपाती सकेर पहाडी जिल्लाका मानिसहरु मजदूरीका लागि भारततिर लागेका छन् ।

इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार यतिबेला दैनिक ५र६ सय नेपाली भारततिर कामका लागि गइरहेका छन् । दशगजाको छेउमै आगो ताप्ने व्यवस्था मिलाइएको जमुनाहाका इन्चार्ज माधव रिजालले बताए ।

हावापानी कार्यालयका कर्मचारी पलबहादुर विकका अनुसार, मंगलबार जिल्लाको तापक्रम न्यूनतम १२.२ डिग्री र अधिकतम १४.४ डिग्री रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको फरक थोरै भएकाले चिसो बढी भएको विकले बताए । चिसो बढ्दा दैनिक मजदुरी गर्नेहरु ठूलो मारमा पर्छन् । बालक र जेष्ठ नागरिकलाई चिसो बढी असर गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्