Logo

छोरीका लागि बैंक खाता शुभारम्भ गरिँदै



कखरा संवाददाता


२ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने कार्यक्रम शुरुआत गर्ने भएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ बुधबार कालीकोटबाट शुरुआत गर्ने भएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृह जिल्ला कालीकोटबाट कार्यक्रम शुभारम्भ गर्नुहुने भएको हो । बुधबार नै खाँडाचक्र नगरपालिकाका दलित समुदायका दुई बालिकाको बैंक खाता खोलेर  कार्यक्रमको उद्घाटन गरिने जनाइएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार यही साउन २३ गते जन्मिएकी जानकी परियार र असोज ९ गते जन्मिएकी जमुना सुनारको बैंक खाता खोलिँदैछ । त्यस्तै, प्रदेशका १० वटै जिल्लामा कार्यक्रम लागू गरिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिमा २०७६ साउन १ गते वा त्यसयता जन्मिएका छोरीलाई यस कार्यक्रममा आबद्ध गराइने उल्लेख छ । बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्ने छन् । आफ्नो बुबाआमा हुनेले बुबा आमाबाटै र नहुनेले आश्रित सङ्घसंस्था वा संरक्षकले छोरीको खाता खोलिदिनुपर्ने गरी कार्यविधि बनाइएको छ ।

यो सुविधा एक दम्पतीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र उपलब्ध हुने जनाइएको छ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने सङ्ख्याको सीमा तोकिएको छैन । कर्णाली सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णाली प्रदेशमा छोरीहरुमाथि हुने असमान व्यवहार हटाउन कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभएको छ ।

कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आवमा रु ७ करोड बजेट विनियोजन गरेको छ । यस कार्यक्रमबाट छोरीमाथिको विभे र बालविवाह अन्त्य हुने तथा छोरीको शिक्षादीक्षामा मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा रहेको समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्