Logo

कांग्रेसको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय



कखरा संवाददाता


२९ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिलेपछि पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कांग्रेसका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा भएको पौडेल र देउवाबीचको बैठक निष्कर्षमा पुग्न नसकेपछि दुबै नेताले सहमित खोज्ने जिम्मा दोस्रो तहका नेतालाई दिएका हुन् ।

जसअनुसार शनिबार साँझ पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमलेन्द्र नीधिको नेतृत्वमा सिंह निवास चाक्सिबारीमा छलफल भएको छ । छलफलमा यसअघिको सहमति अनुसार पौडेल पक्षले चौधौँ महाधिवेशनको कार्यतालिका तत्काल ल्याउनु पर्ने र विभागको संख्या बढाउँदा कम्तिमा ४० प्रतिशत हिस्सा चाहिने माग राखेपछि कांग्रेसमा विवाद भएको थियो । सिंह निवास चाक्सिबारीमा सोही विषयमा छालफल भएको हो । तर दुबै पक्ष ठोस सहमतिमा नपुगेको सिंह निकट स्रोतले जानकारी दियो ।

यद्य‌पि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने बैठक सकारात्मक भएको दाबी गरेका छन्। उनले भने, ‘चाक्सिबारीमा बसेको छलफल सकारात्मक रुपले अघि बढेर भर्खरै टुंगियो । आइतबार केन्द्रीय समितिको बैठक पूर्व सूचना अनुरुप अपराह्न एक बजे बस्नेछ ।’ कांग्रेसको केन्दीय कार्यसमितको बैठक आइतबारका लागि बोलाइएको छ। बिहीबार बैठक बहिस्कार गरेको पौडेल पक्षलाई सहमतिमा ल्याउन देउवा पक्षले कसरत तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्