Logo

‘पूर्वएमालेलाई सभामुख दिन प्रचण्डले आँखासमेत झिम्क्याउनु भएको छैन’



कखरा संवाददाता


२८ मंसिर, काठमाडौं । नेकपाभित्रको पूर्व माओवादी खेमाले सभामुख पद नछाड्ने रणनीति तय गरेको छ । संसदको हिउँदे अधिवेशन पुस ४ गते बोलाइएको अवस्थामा नेकपाभित्र र बाहिर भावी सभामुखको चर्चा भइरहेका बेला पूर्वमाओवादी खेमाले पार्टी एकीकरण हुनुअघि भएको शक्ति विभाजनले निरन्तरता पाउनु पर्ने पक्षमा देखिएको हो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक विश्वास पात्र मानिने नेताले पार्टी एकीकरण पूर्ण तय गरिएको शक्ति सन्तुलनमा कुनै फेरबदल नहुने देश सञ्चारसँग बताए । अध्यक्ष दाहाल कुनै पनि हालतमा पूर्वएमाले खेमालाई सभामुख पद दिने पक्षमा नरहेको उनको जिकिर छ ।

नाम उल्लेख गर्न नचाहने ती नेताले देश सञ्चारसँगको कुराकानीमा भने, ‘पूर्वएमाले पक्षलाई सभामुख दिने कुरै छैन। हामीले नै सभामुख पाउनुपर्छ भन्नेमा अध्यक्ष प्रचण्ड दृढ हुनुहुन्छ । यस विषयमा उहाँले पूर्वएमालेको पक्ष आँखासमेत झिम्क्याउनुभएको छैन ।’

उनले पार्टी एकताले संगठनात्क र भावनात्क पूर्णता पाइ नसकेको अवस्थामा शक्ति सन्तुलन कायमै राख्नुपर्ने जरुरी रहेको जिकिर गरे। ‘म अध्यक्ष प्रचण्डसँग निरन्तर संवादमा छु । उहाँ हामीसँगै सभामुख पद रहनुपर्छ भन्नेमा प्रष्ट हुनुहुन्छ। तथापी यो दुई अध्यक्षको बैठकले तय गर्ने विषय हो, उनले भने ।

पूर्व माओवादी खेमालाई थप दुईवटा मन्त्री दिने, राष्ट्रिसभाको अध्यक्ष पूर्व माओवादीलाई दिएर सभामुख पूर्वएमालेले लिने जस्ता प्रचार गराएर आफूहरुलाई अपमान गर्न खोजिएको प्रचण्ड पक्षीय नेताहरुको बुझाइ छ । पार्टी एकता हुनुपूर्व तत्कालीन माओवादीका तर्फबाट संघीय संसदमा कृष्णबहादुर महरा सभामुख र राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल उपाध्यक्ष भएकी थिइन् भने एमालेले प्रधानमन्त्रीसहित राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख लिएको थियो ।

सभामुख महरालाई संसद सचिवालयकै एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोग लागेपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए । महराको राजीनामापछि नयाँ सभामुख को भन्नेबारे औपचारिक अनौपचारिक रुपमा छलफल सुरु भएको छ । सभामुख र उपसभामुख दुवै एउटै पार्टीले लिन नहुने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख शिवमामा तुम्बाहाम्फेलाई राजीनामा गराउने निश्चित भएको छ ।

नयाँ सभामुख कसलाई बनाउने भन्ने निष्कर्षमा नेताहरु अझै नपुगेको पूर्व एमाले खेमाका एक शीर्ष नेताले बताए । उनले भने, ‘यो विषय छलफलकै चरणमा छ । कुरो पूर्वएमाले कि पूर्वमाओवादी भन्नेमै अल्झिएको जानकारी पाएको छु ।’

पूर्व एमाले भए नेम्वाङ, पूर्व माओवादी भए सापकोटा
पूर्वएमाले वा माओवादी कसले सभामुख पाउने भन्ने विषय टुंगो लाग्ने वित्तिकै व्यक्तिको समेत टुंगो लाग्ने स्रोतको भनाइ छ । पूर्वमाओवादीले अवसर पाएको खण्डमा अग्नि सापकोटा नै सभामुखको उम्मेदवार हुने लगभग निश्चित छ ।

त्यसलाई पुष्टि गर्दैै सापकोटाले देश सञ्चारसँग भने, ‘हाम्रो खेमाका साथीहरुले मलाई तपाईं नै जाँदा ठीक हुन्छ भन्नुभएको छ। अरुको दाबी रहने अवस्था छैन । बाँकी कुरा पार्टीले निर्णय गर्छ ।’

पूर्व एमाले अवसर पाएको खण्डमा सुवासचन्द्र नेम्वाङ सभामुखको उम्मेद्वार हुनेछन् । हालकी उपसभामुख तुम्बाहाम्फेले सभामुखको दाबी गरे पनि प्रधानमन्त्री ओली नेम्वाङकै पक्षमा रहेको छन् । तथापी राष्ट्रपति विद्यादेवि भणडारीले तुम्बाहाम्फेको पक्षमा लविङ गरिरहेको चर्चा राजनीतिक वृत्तिमा छ ।

सभामुखबारे आफूलाई अध्यक्ष प्रचण्डले नबोल्न निर्देशन दिएको बताउँदै आएका नेम्वाङ शुक्रबार कुन खेमाले पाउने भन्ने विषय छलफलकै चरणमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्