Logo

अस्ट्रेलियामा अवैध रकम प्रकरणमा पक्राउ परेका विपीन थापा धरौटीमा रिहा



कखरा संवाददाता


२७ मंसिर, सिड्नी । करिब १० करोड अस्ट्रेलियन डलर अवैध रकम कारोबारमा आरोपित नेपाली मूलका विपीन थापालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार डिसेम्बर १० मा न्यू साउथ वेल्सको उच्च अदालतले थापालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अदालतमा उपस्थित विपीन थापाका साथी कोमलराज पाठकले हाल सिड्नीस्थित एक जेलमा अनुसन्धानका लागि थुनामा रहेका थापाले टेलिकन्फरेन्समार्फत् अदालतमा बयान दिएको बताए ।

उनले भने, ‘विपीन त्यस कम्पनीमा अकाउन्टेन्टका रूपमा मात्र कार्यरत थिए । प्रहरीले उनलाई जुन आरोप लगाएको थियो, त्यसको ठोस प्रमाणहरू प्रस्तुत गर्न नसकेकाले अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यस घटनालाई नेपाली समुदायले पाठका रूपमा लिएर आफूले काम गर्ने कम्पनीसम्बन्धी केही अध्ययन र अनुसन्धान गर्न जरुरी हुने रहेछ भन्ने कुरा पनि सिकाएको छ । यसतर्फ सबै सचेत हुनुपर्छ ।

धरौटीमा रिहा भएपछि विपीन थापाले बाहिर बसेरै मुद्दा लड्न पाउनेछन् भने घटनाको विस्तृत अनुसन्धान भइरहेकाले यसको अन्तिम फैसला हुन भने अझै बाँकी छ । सिड्नीस्थित ‘एस्योर प्रोटेक्सन सर्भिसेस’ नामक एक सेक्युरिटी कम्पनीमा कामदारका रूपमा कार्यरत थापालाई गत जुलाई महिनामा प्रहरीले तीनजना संचालकहरू सहित पक्राउ गरेको थियो ।

सो अवैध रकम कारोबारमा प्रहरीले विपीन थापासहित ३० वर्षीय गगनदीप फावा, उनका पार्टनर ३० वर्षीय गोपाली दल र ३१ वर्षीय मनमिन्दर सिंहलाई पक्राउ गरेको थियो ।

गगनदीप फावा नाइके रहेको यो समूहले तीनदेखि चार वर्षको अवधिमा ८ देखि १० करोड अष्ट्रेलियन डलरको अवैध रमको कारोबारका साथै हुण्डी कारोवार गरेको भेटिएको प्रहरीलाई उद्धृत गर्दै अस्ट्रेलियाका सञ्चार माध्यमले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्