Logo

पीपीएलको विजेतालाई २७ लाख, उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल



कखरा संवाददाता


२७ मंसिर, काठमाडौं । कास्की– पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पिपिएल० टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार पुरस्कार राशि सार्वजनिक गरेको हो । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ पाउनेछ ।

त्यसैगरी पिपिएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्वी लामाले बताए । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख रुपैयाँ, ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

त्यसैगरी प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रालिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउनेछ ।

अघिल्लो संस्करणको पुरस्कार राशिलाई यथावत् राख्दै खेलाडीका लागि अन्य व्यक्तिगत पुरस्कार तथा सुविधामा वृद्धि गरिएको आयोजकले जनाएको छ। पिपिएलको दोस्रो संस्करणमा छ टोलीको सहभागिता रहेको छ । जसमा साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको तथा खेलका लागि खेलाडी पोखरा आउने क्रम शुरु भइसकेको आयोजकको भनाइ छ । मैदानमा पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टरलगायत आवश्यक संरचना निर्माण सकिएको प्रबन्ध निर्देशक लामाले जानकारी दिए । अघिल्लो संस्करणमा दुईजना विदेशी खेलाडी प्रत्येक टोलीमा रहेकामा यस पटक तीन जनाका दरले विदेशी खेलाडी प्रत्येक टोलीमा आवद्ध रहेको बताइन्छ । प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्