२७ मंसिर, काठमाडौं । विश्वभर फाइभजीको चर्चा चलिरहँदा चीनले भने ‘सिक्स जी’को प्रोजेक्ट आधिकारिक रुपमा घोषणा गरेको छ ।
चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले अमेरिकालाई प्रतिस्पर्धामा पछाडि पार्ने गरी नयाँ जेनेरेशनको टेक्नोलोजी ‘सिक्स जी’ नेटवर्क्स, विज्ञहरु र रिसर्च संस्था चयन गरेको ग्लोबल टाइम्सले जनाएको छ ।
टाइम्सका अनुसार चीनले शनिबार नै विज्ञान तथा प्रविधि मन्त्रालयमा बैठक बसेर विश्वविद्यालयबाट ३७ जना प्रविधि विज्ञ, अनुसन्धानकर्ता इन्स्टिच्यूट र इन्टरप्राइजेज चयन गरेको हो । यसका साथै उसले उद्योग वाणिज्य मन्त्रालसँग छलफल गरेको थियो ।
जिम्मेवारी पाएका उक्त ग्रुपहरुले ‘सिक्स जी’को टेक्निकल पक्ष र बनाउनु पर्ने पूर्व तयारीका संरचनाहरुबारे सुझाव दिनेछन भने यसको प्रदर्शन समेत गरेर देखाउने चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता वाङ यीले भनेका छन्, ‘सिक्स जी प्रविधिको खोज र अनुसन्धान अहिले प्रारम्भिक चरणमा भइरहेको छ । यसका मुख्य संकेतहरु र एप्लिकेशनहरु अहिलेसम्म आइसकेका छैनन् ।’
चीनले अहिले फाइभ जीको विश्वभर नेतृत्व गरिरहेका छ भने व्यापारिक रुपमा अक्टोबर ३१ देखि आफ्नो सेवा सुरुवात गरिसकेको छ । चीनले ८६ हजारभन्दा बढी फाइभजीको आधारभूत स्टेशनहरु बनाइसकेका छन् भने फाइभजीको ह्याण्डसेट पनि बजारमा उपलब्ध गराइसकेको छ ।
तर यता, अमेरिकाले भने चीनको फाइभजी टेक्नोलोजीलाई अवरोध गर्न अन्तराष्ट्रिय रुपमै लागि परेको छ । हुवावेको नेटवर्कलाई अन्तराष्ट्रिय रुपमै ब्याण्ड गरेपछि अमेरिकाले चीनको ‘सिक्सजी प्रविधि’लाई पनि विश्वभर पहुँचमा पुग्न नदिन नीजी टेलिकमहरुलाई कडाइ गर्न थालेको छ । यसका साथै अमेरिकाले आफ्नो फाइभजीको नेटवर्क विस्तारको लागि नीजी कम्पनीलाई अन्तराष्ट्रिय स्तरमा किन्न र हुवावेलाई छाड्न दबाद दिइरहेका छन् ।
अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले गत शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट अमेरिकाले चाँडै फाइभजी चाहेको र सिक्सजी पनि सकभर छिट्टै छलफल आउने बताएका थिए । तर अमेरिकी टेलिकम नेटवर्क विज्ञहरुले भने उनको त्यो भनाइलाई भौतिक संचरनाको अभावमा गर्न नसकिने र अहिले जेनेरेशनलाई नेटवर्क तत्काल दिन नसकिने बताएका छन् । उनीहरुले अहिले फाइभजीकै प्रविधिमा पहिला जानु पर्ने सुझाव दिएका छन् ।
यस्तै बेइजिङमा रहेर इन्फर्मेसन कन्जम्सन एलाइन्सका महानिर्देशक सियाङ लिगाङले भनेका छन्, ‘फाइभजी प्रविधिलाई सिक्सजीमा रुपमान्तरण गर्ने प्रविधिको खाँचो छ । यसलाई सहकार्य र समन्वय गर्नु अति जरुरी छ । हामी यसको लागि तयारी गरिसकेका छौ ।’
यस्तै चिनियाँ चर्चित मोबाइल ब्राण्ड हुवावेले आफ्नो मोबाइलहरुमा फाइभजी टेक्नोलोजी विस्तार गरिसकेको छ भने बजारले यसलाई आफ्नो नेटवर्कभित्र विस्तारको काम गर्दै आएको छ । यसबारे हुवावेका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक झेङफाइले एक अन्तरवार्तामा भनेका छन्, ‘हामी फाइभजी मात्रै होइन सिक्सजी प्रविधिलाई पनि चाडैँ नै विश्वभर चिनाउनेछौ । यसकव लागि करिब १० वर्षचाहि लाग्छ होला ।’
यसैगरी विज्ञहरुले भने सिक्सजी प्रविधिमा अहिले प्रारम्भिक खोज भइरहेको र यसले १० वर्ष लगाउने सम्भावना रहेको बताएका छन् । तर त्यो भन्दा अगाडि नै नयाँ पुस्तालाई भने सिक्सजीको पनि धेरै चासो र खाँचो भइसक्ने बताएका छन् ।
चीनले गत अक्टोबर ३१मा फाइभजीको आधिकारिक रुपमा सार्वजनकि र व्यापारीकरण गरेको थियो जसमा मुख्य टेलिकम अपरेटरहरु, चिनियाँ मोबाइल, चिनियाँ युनिकम र चाइना टेलिकमहरु रहेका छन् । उनीहरुले चीनको दर्जनबढी शहरहरुमा फाइभजी नेटवर्क विस्तारको जिम्मा लिएर चिनियाँ जनतालाई सेवा दिइरहेका छन् ।