२५ मंसिर, काठमाडौं । साग फुटबलको फाइनल यात्रा तय गरेपछि भुटानी टोलीका मुख्य प्रशिक्षक पेमाले पत्रकारहरुसँग भनेका थिए, ‘फाइनलमा प्रतिद्वन्द्वी नेपाल नहोस् भन्ने चाहेका छौँ ।’ आयोजक नेपाल फाइनल प्रतिद्वन्द्वी नभए घरेलु दर्शकको समर्थन भुटानलाई प्राप्त हुनेछ – प्रशिक्षक पेमालाई लागेको थियो ।
अरु सबै टोलीसँग प्रभावकारी जित निकाल्दै साग फुटबलमा ऐतिहासिक यात्रा गरेर फाइनल पुगेको भुटानले नेपालसँग भने चार शून्यको नमिठो हार व्यहोरेको थियो। यता अपराजित रहेको नेपाल भुटानसँगको फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रियो।
भुटानलाई जुन कुराको डर थियो मैदानमा भैदियो पनि त्यस्तै। घरेलु दर्शककोे समर्थन पाएको नेपालले खेलमा सुरुवाती अग्रता लियो। खेल सुरु हुनु अगावैदेखि हुटिङ गरिरहेका दर्शकले नेपालले सुरुवाति अग्रता लिएपछि नेपाल‘ नेपाल‘को ध्वनिलाई झन ठूलो पारे।
केही हतोत्साहित देखिएको भुटानी टिमले गोल गर्ने अवसर भने खोजी नै रह्यो। अन्ततः पहिलो हाफ सकिनु केही समय अघि नै भुटानले गोल गर्दै खेल बराबरीमा ल्यायो। तर दोस्रो हाफमा आक्रामक बनेको नेपालले थप एक गोल गरेर खेलमा २–१ को अग्रता कायम गर्यो, अन्तिम नतिजा पनि त्यही भयो।
तर रोमाञ्चक के भने, खेल अवधिभर नेपाल‘ नेपाल‘ भनेर हुटिङ् गरेका घरेलु दर्शकहरुले खेल सकिएपछि भुटानको पक्षमा हुटिङ गरे। खेल सकिएको बढीमा दुई मिनेट उत्सव मनाएर नेपाली टिमको हौसला बढाएका दर्शकले त्यसपछि भुटान‘ भुटान‘ भन्न थालेका थिए।
मैदानमा शिथिल भएर ढलेका भुटानी खेलाडीहरु जब उठेर दर्शकतर्फ हेर्दै ताली बजाएर धन्यवाद दिन थाले अनि भुटान।। भुटान‘को ध्वनि थप चर्को सुनिएको थियो। फुटबलमा भुटान कमजोर टिम मानिन्छ। तर छोटो समयमै उलेख्ख प्रगति गरेर सागमा रजत जित्न सफल भएपछि नेपाली समथर्कको माया भुटानले पाएको हो।