Logo

अब प्रधानमन्त्री ओलीको समय ‘अत्यावश्यक कामका लागि मात्रै’



कखरा संवाददाता


२१ मंसिर, काठमाडौं । बालुवाटार गएर पनि केही दिन आराम गर्ने सर्त सहित ९ दिनको अस्पताल बसाइपछि बिहीबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक कामका लागि मात्रै समय दिएका छन् । आराम नै पहिलो प्राथमिकतामा परेपछि प्रधानमन्त्री ओलीले खासगरी सरकारी कामका लागि मुख्य सचिव लगायतलाई शुक्रबार समय दिएका हुन् ।

एपेन्डिसाइटिसको शल्यक्रिया र पेटको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते प्रधानमन्त्री ओली भर्ना भएका थिए । एक साता भन्दा बढी उपचारपछि स्वास्थ्य लाभ गरी बालुवाटारमा पनि केही दिन आराम गर्ने सर्तमा प्रधानमन्त्री ओली डिस्चार्ज भएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीलाई अझै केही दिन आरामको आवश्यकता रहेको र अत्यावश्यक कामका लागि मात्रै समय दिएको बताए ।

‘तत्काल प्रधानमन्त्रीज्यूलाई आरामकै आवश्यकता छ । त्यसका कारण कुनै कार्यतालिका बनाइएको छैन । तर अत्यावश्यक काममा भने उहाँले समय दिइरहनु भएको छ,’ थापाले देशसञ्चारसँग शुक्रबार भने । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले ओली अस्पतालबाट डिस्चार्ज हुनु भन्दा अगाडि करिव आधा ओलीलाई भेट गरी फर्किएकी थिइन् ।

ओलीले एपेन्डिसाइटिस र पेटमा फैलिएको संक्रमणको उपचार गराएपनि उनको मिर्गौला सम्बन्धी उपचार जारी छ । १२ वर्ष अघि प्रत्यारोपण गरेको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि गत कार्तिक १३ गतेदेखि ओलीले नियमित डायालापसि उपचार पद्दती अपनाएका छन् ।

तर डायालसिस उपचारप्रक्रिया दिगो नहुने भएकाले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेका बेला उनलाई एपेन्डिसाइटिस र पेटमा संंक्रमण फैलिएपछि उनी अस्पताल भर्ना हुनु परेको हो । प्रत्यारोपणबारे छलफल भएपनि त्यो कहिले गर्ने भन्ने टुंगो नलागेको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा। दिव्या सिहं शाहले बताइन् ।

प्रतिक्रिया दिनुहोस्