Logo

६ वर्षमा ५.६७ क्विन्टल सुन बरामद



कखरा संवाददाता


१४ मंसिर, काठमााडौं । हङकङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्विनहाङ ८ केजी सुनसहित बिहीबार राति त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरुलाई पक्रिएको थियो । चीनको फुजियान प्रान्तका दुवै जना भरिया रहेको प्रहरीको आशंका छ । शुक्रबार पनि तिब्बत एयरबाट आइपुगेका चिनियाँ नागरिक सा लुतुई एक किलो सुनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् ।

गत साउन १९ गते हङकङबाटै आएका चिनियाँ नागरिक ली निङसिङ ४ केजीसहित विमानस्थलबाटै समातिए । उनी पनि तस्करका भरिया नै रहेको प्रहरीको भनाइ छ ।

अवैध रुपमा नेपाल भित्र्याइएको सुन बरामद गरिएका यी पछिल्ला घटना हुन् । जसबाट तस्करले विभिन्न शैली र बाटो अपनाउँदै सुन भित्र्याउने क्रम चलिरहेको देखिन्छ । प्रहरीले प्रायः भरिया मात्र समात्ने र मुख्य कारोबारी पत्ता नलगाउने हुनाले पनि तस्करी निरन्तर भइरहेको आकलन गरिएको छ ।

गत चैत २० गते त्रिभुवन विमानस्थलबाटै प्रहरीले थाइल्याण्डबाट आएका ५ भारतीयलाई ६ किलो सुनसहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार ६ वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६७ केजी सुन बरामद भएको छ । जुन अहिलेको दरअनुसार करिब ३ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरको हो । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्