Logo

प्रधानमन्त्री ओलीको ‘दोस्रो मृगौला प्रत्यारोपण’ केही महिना असम्भव



कखरा संवाददाता


१३ मंसिर, काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रियामा सफलता प्राप्त गरी संक्रमणबाट जोगिन अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गर्ने भनिएको मृगौला प्रत्यारोपण तत्काल असम्भव देखिएको चिकित्सकले बताएका छन्।

मृगौला प्रत्यारोपणपछि त्यसलाई बचाउनका लागि ओलीले निरन्तर रुपमा खाइरहेको ‘इमिनोसप्रेसन’ नामको औषधि हाल पूर्णरुपमा बन्द गर्नुपरेको छ । उनमा संक्रमण फैलिएको र एपेन्डिक्स काटेर फ्याँकेको अवस्थामा थप संक्रमण हुन नदिन वा उनको ज्यान बचाउन ‘इमिनोसप्रेसन’ बन्द गर्नुपर्ने अवस्था आएको हो ।

तर ओलीको जीवनको संरक्षणका लागि हाललाई उक्त औषधि रोक्दा अहिलेलाई राम्रो भएपनि विस्तारै उनको शरीरमा एन्टिवडी बढ्ने निश्चित भएको त्यस मामिलामा जानकार चिकित्सक बताउँछन् ।

एन्टिवडी बढ्दै गएको खण्डमा त्यसलाई घटाउन पुनः प्लाज्मा फेरेसिस गर्नुपर्ने हुनसक्छ। गत भदौ पाँच गते शरीरमा एन्टिवडी बढी भएपछि त्यसलाई हटाउन ओली सिंगापुर पुगेका थिए । त्यसलाई हटाएर आएको केही समयमै उनको मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि डायलासिस गर्नुपर्ने अवस्था आएको थियो।

२५ दिनको फरकमा चार पटक डायलासिस गरिसकेका ओलीलाई एपेन्डिसाइटिसको समस्या देखिएपछि मंगलबार अर्थात मंसिर १० गते महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको तत्काल शल्यक्रिया गरी एपेन्डिक्स काटेर फ्याँकिएको थियो । र पेटमा फैलिएको संक्रमणको स्रोतहरु हटाउन विभिन्न औषधिहरु चिकित्सकले उनलाई दिएका छन् ।

अप्रेशन लगत्तै भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीलाई भोलिपल्ट मात्रै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । यता एपेन्डिसाटिसको शल्यक्रिया गर्ने क्रममा चिरिएको भाग निको हुन पनि समय लाग्ने देखिन्छ। कारणमा एक सरकारी चिकित्सक भन्छन्,‘ओलीको शरीर अन्य स्वस्थ मानिसको जस्तो छैन। पटक–पटक संक्रमण देखिएको उहाँको शरीर कमजोर छ। त्यो निको हुन पक्कै समय लाग्छ ।’

अर्कोतर्फ शल्यक्रियाको क्रममा रगत चढाइएको हो भने त्यसलाई पनि संक्रमणका लागि जोखिम मानिन्छ। ओलीको शल्यक्रियाको क्रममा रगत चढाइएको हो वा होइन भन्नेबारे उनका निजी चिकित्सक र उनलाई उपचार गरिरहेको अस्पतालले औपचारिक रुपमा जानकारी गराएका छनैन् ।

‘अप्रेशनका बेलामा यदी ‘ब्लड ट्रान्स्फ्यूजन’ गरिएको हो भने त्यो बिरामी किड्नी ट्रान्सप्लान्टका लागि रिस्की मानिन्छ । अर्को, दोस्रो पटक ट्रान्सप्लान्ट आफैमा पनि जोखिममुक्त मानिदैन’, अर्का एक ट्रान्प्लान्ट सर्जनले देश सञ्चारलाई बताए ।

प्रतिक्रिया दिनुहोस्