Logo

कालापानी भारतलाई ‘राष्ट्रवादी’ले बेचेका हुन्,मधेशीले होइनः सीके राउत



कखरा संवाददाता


८ मंसिर, काठमाडौं । पृथकतावादी आन्दोलन त्यागेको घोषणा गरेको केही महिनापछि सी.के. राउतले नेपालमा ‘रंगभेद’ छ्यापछ्याप्ती रहेको र त्यसकाविरुद्ध हिमाल, पहाड तथा मधेश सर्वत्र आफू लागि पर्ने घोषणा गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजित एक जनसभामा बोल्दै राउतले ‘रंगभेद’को उपस्थितिलाई अस्वीकार गर्नु प्रकाश, हावा र आकाशको अस्तित्व अस्वीकार गर्नु जस्तो भएको बताए।

पाँच वर्षअघि काठमाडौँमा प्रस्तावित र्‍यालीको तयारीका क्रममा ४ सय भन्दा बढी व्यक्तिहरुलाई गिरफ्तार गरिएको र राज्यले याताना दिएको मात्र हैन उनीहरुलाई ‘रंगभेदी’ व्यवहार गरेको आरोप पनि उनले लगाए । अमेरिकाका ‘सिभिल राइट’ नेता मार्टिन लुथरकिङको वक्तृत्व शैलीको खासगरी उनको प्रख्यात ‘आइ ह्याव अ ड्रिम’ भाषणको नक्कल गर्दै उनले कतिपय ठाउँमा वाक्य र वाक्यांश दोहार्‍याई रहे, अनि आफ्नो आन्दोलन ‘रंगभेद स्वीकार्दैनौँ’ भन्ने सन्देश दिन निरन्तर रहने बताए ।

‘खोक्रो राष्ट्रवाद’का समर्थकहरुले मात्र ‘रंगभेद’को अस्तित्व स्वीकार नगरेको भन्दै त्यो राष्ट्रवादका अभ्यासकर्ताहरुले मुलुक बेचेको आरोप पनि उनले लगाए । खासगरी युरोपेली संघ र राष्ट्रसंघका नेपालस्थित केही अधिकारीले उनले पृथकतावादी आन्दोलनलाई समर्थन गरेको आरोप लागिरहेको पृष्ठभूमिमा उनले कथित राष्ट्रवादीहरुले नै मुलुक बेचेको तर्क गरे ।

सन् १९४७ मा विदेशी भर्तिकेन्द्रमा नेपालीलाई पठाउने, कोशी–कर्णाली विदेशीलाई बेच्ने, १० हजार ८०० मेगावाटको कर्णाली इनरोनलाई, महाकाली जीएमआरलाई र ‘अरुण थ्री’सँगै कालापानी बेच्ने जस्ता सबै काम मधेशीबाट नभएर ‘राष्ट्रवादी’बाट भएको उनले बताए । उनले आफ्नो आन्दोलन काठमाडौँका सडकहरुमा धोती लगाएर हिँड्नेहरुको ‘धोती नफुस्काइयोस्’, सैलुनमा कार्यरतविरुद्ध अपमान नहोस् र कलेजका कक्षा कोठामा मधेशीहरुलाई अपमानित नगरियोस् भनि सुनिश्चित गर्ने उद्देश्यले गरिएको दावी गरे ।

‘नेपाल’ राष्ट्रलाई आफ्नो लेखमार्फत ‘वेश्या’का रुपमा प्रस्तुत गर्दै आएका राउतले त्यो शब्द नदोहोर्‍याए पनि उनले आफ्नो भाषण अन्तमा ‘जय मधेश’बाट टुंग्याए, ‘जय नेपाल’ उद्घोष गरेनन् । उनले गत चैत्र महिनामा प्रधानमन्त्री ओलीसँग ११ बुँदे सम्झौता गरी ‘पृथकतावाद’ छोड्ने घोषणा गरेका थिए। सभाको व्यवस्थापन राउतका निजि सुरक्षाकर्मीहरुले गरका थिए। निलो सुट र रातो टाईमा सजिएका निजि सुरक्षागार्डले उनलाई घेरेर राखेका थिए।

प्रतिक्रिया दिनुहोस्