Logo

जर्मनीको उत्कृष्ठ पुनरागमन, बन्यो समूह विजेता



कखरा संवाददाता


४ मंसिर, एजेन्सी । जर्मनीले समूह विजेताका रुपमा युरोकप २०२० को छनौट यात्रा टुंग्याएको छ । समूह सी मा रहेको जर्मनीले मंगलबार राति भएको छनौट चरणको अन्तिम खेलमा उत्तरी आयरल्याण्डलाई ६–१ ले पराजित गरेको हो ।

सुरुमा पछि परेको जर्मनीले पुनरागमन गर्दै शानदार जित दर्ता गरेको हो । सातौँ मिनेटमा माइकल स्मिथको गोलबाट उत्तरी आयरल्याण्डले सुरुवाति अग्रता लियो । १९ औँ मिनेटमा सर्ज ग्नाब्रीले जर्मनीका लागि बराबरी गोल गरे । ४३ औँ मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेपछि पहिलो हाफमा जर्मनीले २–१ को अग्रता लियो । ग्नाब्रीले ४७ र ६० औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

गोरेट्ज्काले ७३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने जुलियन ब्रान्टले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि जर्मनीले ६–१ को जित निश्चित गरेको हो । जितपछि ८ खेलबाट २१ अंक जोडेको जर्मनीले नेदरल्याण्डसलाई पछि पारेर समूह विजेता बनेको हो । पराजित भएको उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा रह्यो र उसले प्लेअफ खेल्नु पर्ने भएको छ ।

मंगलबार राति नै भएको खेलमा नेदरल्याण्डसले इस्टोनियालाई ५–० ले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको उसले दोस्रो हाफमा तीन गोल थपेको हो । नेदरल्याण्डसको जितमा जर्जिनियो वाइनाल्डमले ६, ६६ र ७८ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे।

यस्तै १८ औँ मिनेटमा नाथन एके तथा ८७ औँ मिनेटमा माइरोन बोअडूले गोल गरे । जितपछि पनि नदरल्याण्डस समूह विजेता भने बन्न सकेन । ८ खेलबाट १९ अंकसहित उ उपविजेतामा सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्