१ मंसिर, काठमाडौं । विश्व उपविजेता क्रोएसिया आउँदो वर्ष हुने युरोकप फुटबलका लागि छनौट भएको छ । छनौट चरण अन्तर्गत शनिबार राति भएको समूह ई अन्तर्गतको खेलमा स्लोभाकिलाई ३–१ ले पराजित गरेको क्रोएसिया युरोकपमा पुग्न सफल भएको हो ।
क्रोएसियाको जितमा ५६ औँ मिनेटमा निकोला भ्लासिक, ६० औँ मिनेटमा ब्रुनो पेट्कोविच र ७४ औँ मिनेटमा इभान पेरिसकले गोल गरे । त्यसअघि पहिलो हाफमा नै स्लोभाकियाका लागि रोबर्ट बोजेनिकले ३२ औँ मिनेटमा गोल गरेका छन् ।
६६ औँ मिनेटमा रोबर्ट माक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्लोभाकिया १० खेलाडीमा सीमित भएको थियो । युरोकपमा स्थान पक्का गरेको क्रोएसियाको ८ खेलबाट १७ अंक भएको छ ।
समूह आई अन्तर्गत नै भएको खेलमा वेल्सले अजरबैजानलाई २–० ले पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा वेल्सका लागि किफर मूर र ह्यारी विल्सनले गोल गरे । आउँदो मंगलबार हुने हंगेरीसँगको खेलमा जित निकाले समूह आई बाट युरोकपमा पुग्ने वेल्स दोस्रो टिम बन्न सक्ने छ ।
तर मंगलबार नै हुने खेलमा स्लोभाकियाले अजरबैजानलाई पराजित गरेको र वेल्स हंगेरीसँग बराबरीमा रोकिएको अवस्थामा भने स्लोभाकिया युरोकपमा पुग्नेछ । शनिबार राति नै समूह जी अन्तर्गतका खेलमा पोल्याण्डले इजरायललाई २–१, अस्ट्रियाले उत्तरी मेसेडोनियालाई २–१ तथा स्लोभेनियाले लात्भियालाई १–० ले पराजित गरेका छन् ।