Logo

सरकारका राम्रा काम लिएर चुनावी अभियानमा जानुस् : नेता गौतम



कखरा संवाददाता


२२ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सरकारले गरेका राम्रा कामलाई लिएर चुनावी अभियानमा जान निर्देशन दिएका छन् ।

नेकपा भक्तपुरले बिहीबार तौमढीमा आयोजना गरेको कार्यक्रममा उनले तीन वटै तहका सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजाने बेला आएको बताए । उनले चुनावी अभियानलाई तीव्र बनाउन निर्देशन दिए ।

भक्तपुर क्षेत्र नं १ (क) मा १४ गते हुने उपनिर्वाचनमा पहिलाका भन्दा बढी मत ल्याएर नेकपाको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउँदै उनले नेकपाको विजयीले सरकार विरोधीलाई जवाफ दिनुपर्ने बताए ।

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले कहीँ कतै विचलित नभई नेकपा एक ढिक्का भएर अगाडि बढ्दै नेकपाको विजयीलाई विगतमा जस्तै सुनिश्चित गर्नुपर्ने बताए । त्यस्तै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा सूर्यलाई अन्य कुनै हत्केलाले छेक्न नसक्ने टिप्पणी गर्दै नेकपाको जीत सुनिश्चित रहेको भनाइ राखे ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं १ (क) मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवीप्रसाद ढकाल (डिपी) ले नेकपाको विकास र समृद्धिको अभियान पूरा गर्न उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्