Logo

गौतमलाई उपाध्यक्ष बनाउने आश्वासन पुरा गर्ने कसरतमा ओली



कखरा संवाददाता


१७ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष बनाउने आश्वासन पाएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकाएक नजिकिएका नेता बामदेव गौतमलाई सम्भवत एक साताभित्र त्यो पद औपचारिकरुपमा मिल्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले करिव तीन महिना अघि नेकपाका नेता माधव कुमार नेपाललाई एक्ल्याउने क्रममा ओलीले गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उप—निर्वाचनमा भिडाउने भन्दै दिएको आश्वासन कार्यान्वयनमा नआए पनि गौतम अब सबैभन्दा ठूलो पार्टीको उपाध्यक्ष बन्ने भएका हुन् ।

त्यसका लागि नेकपाले आगामी साता स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको नेकपा सचिवालयका एक सदस्यले जानकारी दिए । ओलीको आग्रहमा गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गर्दै अनुमोदनका लागि त्यो स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो ।

पार्टीमा उपाध्यक्ष पद सिर्जना गर्नका लागि भएपनि नेकपाको स्थायी कमिटि बैठक एक वर्षपछि बस्ने भएको हो । उक्त बैठकले अन्तरिम विधान संसोधनको प्रस्ताव तयार पारी केन्द्रीय कमिटिमा पठाउनु पर्ने छ । तर अध्यक्ष एवं प्रधानमन्त्री ओली बिरामी भएकाले उक्त बैठकको मिति भने तोकिएको छैन ।

नेकपाको स्थायी कमिटीको बैठक गत वर्ष मङ्सिर २९ गते देखि पुस १३ गतेसम्म बसेको थियो । त्यतिबेला बेला पार्टी नेतृत्व र सरकारको कार्यशैलीको चर्को आलोचना भएको थियो र त्यसमा सबैभन्दा अघि नेता गौतम नै थिए ।

अव केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भएपछि मात्रै गौतमले उपाध्यक्ष पद हात पार्ने छन्। तर केन्द्रीय कमिटीको बैठकबारे कुनै निधो गरिएको छैन । केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बोलाउनुपर्ने प्रावधान छ । उक्त बैठक शपथ ग्रहण र निर्वाचन आयोगमा पार्टी दर्ताका लागि हस्ताक्षर बुझाउने काममा सीमित भएको थियो ।

गौतमलाई उपाध्यक्ष बनाउने नेकपाको विधान विपरित भएको भन्दै पार्टीभित्र असन्तुष्टि भने कायमै छ । नेकपा विधानमा २ अध्यक्ष, २ वरिष्ठ नेता, १ महासचिव, १ प्रवक्ता रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्