Logo

बेकरी उत्पादनको मूल्य ३३ प्रतिशत बढ्ने



कखरा संवाददाता


१५ कात्तिक, काठमाडौं । झापाका बेकरी उद्योगले कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँदै आफ्ना उत्पादनको भाउ बढाउने घोषणा गरेका छन् । आज अपराह्न विर्तामोडमा पत्रकार सम्मेलन गरी उद्योगीले कात्तिक १८ गतेदेखि बेकरी उत्पादनमा ३३ प्रतिशत मूल्य वृद्धि हुने जानकारी दिएका हुन् ।

झापाका ४७ वटा बेकरी उद्योगले मूल्यवृद्धि नगरे व्यवसाय बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विर्तामोडको गणपति बेकर्स प्रालिका सञ्चालक राजु ढकालले बेकरी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, श्रमिकको ज्याला, प्याकेजिङ सामग्री र इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि हुँदै आएको भए पनि विगत लामो समयदेखि बेकरी उद्योगले मूल्य नबढाएको दाबी गरेका छन् ।

‘मूल्य समायोजन रहर नभएर बाध्यता हो’, कञ्चन पाउरोटी उद्योग विर्तामोडकी सञ्चालिक भीमा शिवाकोटी भन्छिन्, ‘आम उपभोक्तामाझ गुणस्तरीय एवं स्वास्थ्यवर्धक उत्पादन पु¥याउनका लागिसमेत मूल्य बढाउनुपर्ने अवस्था आयो ।’

बेकरी उद्योगीले व्यवसायी, कर्मचारी र सेल्समेनको ३१ बुँदे आचारसंहितासमेत जारी गरेका छन् । जसमा उत्पादनमा अनिवार्यरुपमा उपभोग्य मिति, उत्पादन मिति, व्याच नं र अधिकतम बिक्री मूल्य उल्लेख गरिनुपर्ने उल्लेख छ । उपभोग्य मिति चार दिनसम्म कायम रहने र मूल्य तथा तौलमा एकरुपता ल्याउनेसमेत उद्योगीले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्