Logo

एलेक्स चम्किए, लिभरपुलले जित्यो



कखरा संवाददाता


७ कात्तिक, काठमाडौं । साबिक विजेता लिभरपुलले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा दोस्रो जित दर्ता गरेको छ । समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले केआरसी गेन्कलाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो भने एक गोल खायो ।

लिभरपुलको जितमा एलेक्स ओक्सलेड–चेम्बरलेनले दुई तथा साडिओ माने र मोहम्मद सालहले एक–एक गोल गरे । गेन्कका लागि ओडीले एक गोल फर्काए । दोस्रो मिनेटमा नै चेम्बरलेनले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । उनले ५७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर अग्रता दोब्बर पारे ।

७७ औँ मिनेटमा माने तथा ८७ औँ मिनेटमा सालहले गोल गरे । ८८ औँ मिनेटमा ओडीले गेन्का लागि एक गोल फर्काएका हुन् । जितपछि दोस्रो स्थानको लिभरपुलको तीन खेलबाट ६ अंक भएको छ । सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा नापोलीले आरबी राल्जबर्गलाई ३–२ ले पराजित गरेको छ । सात अंकसहित नापोली शीर्ष स्थानमा छ ।

यसैगरी समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बेन्फिकाले लियोनलाई २–१ तथा आरबी लेइप्जिगले जेनिट सेन्ट–पिटर्सबर्गलाई २–१ ले नै पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्