Logo

‘नेपालले अपनाएको द्वन्द्व व्यवस्थापन विश्वकै नमूना’



कखरा संवाददाता


२९ असोज, सर्बिया । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि र विश्वका लागि उदाहरण हुने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले अन्तरव्यवस्थापिका संघ (आईपीयूं) को १४१ औं सम्मेलनमा मुलुकमा भएको सशस्त्र द्वन्द्व नेपाल आफैले समाधान गरेको स्मरण गराउनु भयो ।

अन्तर्राष्ट्रिय कानूनले अन्तर्राष्ट्रिय सरोकार र नीति निर्माणका विषयमा सहयोग गर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले विश्वमा आपासी सञ्चार र समझदारी अभिवृद्धिको एक सफल माध्यम बनेको बताउनुभयो । ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणले आ–आफ्नो मुलुकमा क्षेत्रीय र विश्वको समानान्तर रुपले उन्नती एवं प्रगति गर्ने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले विभिन्न जातजाती, भाषभाषीहरु, धर्म संस्कृति र समुदायका रुपमा जुनसकै देश वा महादेशमा बसेपनि मानव जातिका रुपमा एउटै भएको बताउनुभयो । शक्तिवान र धनी राष्ट्र मात्र नभई साना राष्ट्रहरुले पनि समान रुपमा अवसर प्रदान गर्ने भएकोले पारस्परिक समझदारी, विश्वशान्तिको मान्यताका आधारमा अन्तराष्ट्रिय कानूनले मान्यता प्राप्त गर्दै आएको हामी देख्न सक्छौं,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले आईपीयूमा सहभागी राष्ट्रका प्रमुख तथा प्रतिनिधिमार्फत विश्व समुदायलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो ।

‘गौतम बुद्धको जन्मस्थल, विश्वको सर्वोच्च शिखर सगरमाथा, १२३ भाषा भाषि र १२५ जातजाती रहेको नेपालको भ्रमण गर्न निमन्त्रणा गर्दछु,’ उहाँले भन्नुभयो । अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी रहनुभएको छ ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी हुनुहुन्छ । सम्मेलनमा नेपालसहित १७१ राष्ट्रका संसद र ११ एसोसियट सदस्य राष्ट्र सहभागी छन् । अक्टोबर १३ देखि सुरु भएको १४१ औं सम्मेलन १७ अक्टोबर सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्