Logo

एकै मारमा राँगो छिनाउन नसक्दा २ लाख ८८ हजार गुम्याे



कखरा संवाददाता


२४ असोज, काठमाडौं । एकै मारमा राँगो छिनाउन नसक्दा म्याग्दीको रघुगंगा गाउँपालिका–२ नाङनागेका रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैयाँ गुमाउनु परेको छ ।

दशैँको नवमीको दिन राखु भगवती कोत मन्दिरमा बली चढाइने सरकारी राँगो एकै मारमा छिनाउने दाबी गर्दै खत्रीले २ लाख ८८ हजार बाजी थापेका थिए । तर, लक्ष्य चुकेपछि खत्रीले रकम गुमाउनु परेको छ। नवमीमा बली दिइने राँगो मार हान्न कालरात्रिमै सर्वसाधारणले रकम कबोल्ने गर्छन् ।

खत्रीबाहेक अन्य ८ प्रतिस्पर्धीले २ लाख ८५ हजार रुपैयाँसम्म कबोलेका थिए । उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे । उनले कबोलकै बराबरको रकम पनि उठ्न सक्थ्यो ।

कबोलेको रकम मन्दिर व्यवस्थापन समितिलाई बुझाएपछि मात्रै मार हान्न पाइन्छ। आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काको बाइलाइनमा समाचार छापिएको छ।

प्रतिक्रिया दिनुहोस्