Logo

बिहानै जनकपुरमा गोली चल्यो



कखरा संवाददाता


९ असोज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर चोरी गर्ने चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान करिब साढे तीन बजे जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेको चोरलाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम –४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका –१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला, वैरगनीया –७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम –४ मा डेरागरी बस्ने ४० वर्षीय इलियास राइन छन् ।

ग्रामिण क्षेत्रमा गस्ती गरी जिल्ला प्रहरी कार्यालय फर्किरहेको सादा पोसाकमा रहेको प्रहरी टोलीले चोरलाई समातेको हो ।

बिहान करिब साढे तीन बजे उपमहानगरपालिकाको कार्यालय गेट अगाडी सटर दुई फिटजति उठेको र भित्र बत्ती बलिरहेको देखेपछि प्रहरीले गाडी रोकेको थियो ।

मान्छे आएको थाहा पाउने बित्तिकै सटरभित्रबाट चार जना निस्केर दुई जना शिव चोकतर्फ र दुई जना भानु चोकतर्फ भागेका थिए । प्रहरीले लखेट्न सुरु गरेपछि दुई जना जनकपुर उद्योग वाणिज्य संघको कार्यालयतर्फ भागे । उक्त कार्यालयको मोडमा पुगेपछि एउटाले प्रहरीलाई पेस्तोलले ताकेपछि प्रहरीले गोली चलाएको थियो ।

सबै गोली ती चोरको घुँडाभन्दा तल लागेको छ । त्यसतर्फ भाग्ने गोली लागेर घाइते भएका विनोद सिंहसमेत दुई जनालाई त्यही पक्राउ गरियो भने अर्को दुई जनालाई लखेटेरै पुलचोकबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्