Logo

मेस्सीले जिते फिफा वर्ष खेलाडी अवार्ड



कखरा संवाददाता


७ असोज, एजेन्सी । मेस्सी युग अझै समाप्त भएको छैन र अझै मेस्सीको समय बाँकी छ, यसको पछिल्लो प्रमाण बनेको छ–उत्कृष्ट वर्ष खेलाडीका विश्व फुटबलको प्रशासकीय निकायले दिने अवार्ड । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

उनले गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न सकेनन्, च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेको होइन । तर ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो र मेस्सीको भूमिका त्यसमा महत्वपूर्ण थियो ।

गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका मेस्सीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

केही समयअघि बालोन डी’अवार्डमा मेस्सी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो । तर मेस्सीले भान डिजेकलाई पछि पारे ।

भान डिजेकको टिम लिभरपुलले गएको सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो र इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको थियो ।

मिलानमा सोमबार राति भएको अवार्ड वितरण समारोहमा मेस्सी विजेता घोषित भए । युभेन्टसका रोनाल्डो र लिभरपुलका भान डिजेकलाई उनले पछि पारे । मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन् ।

उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए । उनले रोनालडोलाई उछिनेका छन् । ३२ वर्षका मेस्सीको टिमले ला लिगाको उपाधि जितेको थियो तर च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

समारोहमा अमेरिकाकी मेगन रापिनाइले महिला वर्ष खेलाडीको अवार्ड जितिन् । यस्तै वर्ष प्रशिक्षकको अवार्ड लिभरपुलका जर्गेन क्लोप्पले प्राप्त गरे । उनले म्यानचेस्टर सिटीका पेप गार्डिवला र टोटनह्यामका माउरिसियो पोकेटिनोलाई पछि पारेका हुन् । महिला टिमको प्रशिक्षकको अवार्ड जिल एलिसले जितेको समारोहमा बताइयो ।

लिभरपुलका एलिसनले सर्वोत्कृष्ट गोलरक्षकले पाउने अवार्ड पाए । यस्तै लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले फेयर प्ले अवार्ड पाएका छन् । १८ वर्षका ड्यानिएल ज्सोरीले उत्कृष्ट गोलका लागि दिइने पुस्कास अवार्ड पाए ।

प्रतिक्रिया दिनुहोस्