४ असोज, काठमाडौं । वेस्ट इंडिजमा जारी क्यारेबियन प्रिमियर लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम बिजयी भएको छ । सेन्ट लुसियामा भएको खेलमा सन्दीप आवद्ध बार्बाडोस ट्रिडेन्ट्सले सेन्ट लुकिया जक्सविरुद्ध ७१ रनको जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको ट्रिडेन्ट्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । १ सय ७३ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको जक्सले १४ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १ रनमा समेटियो ।
खेलमा ३ ओभर ५ बल बलिङ गरेका सन्दीपले २९ रन खर्चिएर १ विकेट लिए । पहिलो तीन ओभरमा १३ रन मात्र दिएर किफायती बलिङ गरेका सन्दीपले अन्तिम ओभरमा भने १९ रन दिएर विकेट हात पारे ।
आजको खेलमा जित हात पारेसँगै सन्दीपको टीम ४ खेलमा ४ अंकको साथ अंकतालिकाको चौथो स्थानमा छ । ट्रिडेन्ट्सको अर्को खेल सोमबार बिहान पौने ४ बजे छ ।