Logo

विप्लवका धनकुटा-मोरङ सेक्रेटरीले गरे पार्टी परित्याग



कखरा संवाददाता


३ असोज, मोरङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित दल नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई विकल्पले पार्टी परित्याग गरेका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राईले पछिल्लोसमय नेकपाको ब्यवहारमा समस्या देखिएको बताउदै पार्टीबाट अलग हुने निर्णय गरेको बताए ।

पार्टीबाट अलग भएसंगै आफू स्वतन्त्र नागरिक रुपमा अघि बढ्ने उनको भनाइ छ । नेकपाको गतिविधिप्रति असन्तुष्ट रहेको बताएका राईले ‘सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले असन्तुष्ट बनाएको हो । अब म अलग र स्वतन्त्र रुपमा अघि बढ्न चाहान्छु ।’

२०६३ सालमा तत्कालिन माओवादीमा अटाएका राई पार्टी विभाजनसंगै मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीमा पुगेका थिए । राई त्यहापनि विचलित हुँदै विप्लव समूहमा जोडिएका थिए। उनलाई गत असार ९ गते मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो ।

धरानमा भएका कतिपय हिंसात्मक गतिविधिमा लागेको भन्दै उनलाई प्रहरीले संगठित अपराध, हातहतियार खरखजना अभियोगमा जिल्ला अदालत सुनसरी इनरुवामा मुद्दा दर्ता गराएको थियो । अदालतले सादा तारेकमा गत भदौ २४ गते रिहा गर्न आदेश दिएको थियो ।

त्यसपछि राई पुन पक्राउ परेका थिए । मोरङ्ग जिल्ला अदालतले भदौं २६ गते सादा तारेकमा छोड्न आदेश दिए पनि प्रहरीले राईलाई पुनः पक्रदै अभद्र व्यवहारमा मुद्दा हालेको थियो । सोही क्रममा जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई ४ हजार धरौटीमा बिहीबार छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्