Logo

नेइमारलाई भित्र्याउन बार्सिलोनाको अथक प्रयास, पिएसजी बेच्नै चाहँदैन



कखरा संवाददाता


३ असोज, एजेन्सी । बार्सिलोनाले नेइमारलाई यहि समरमा क्लबमा भित्र्याउनका लागि सक्दो र हुनेसम्मका सबै प्रयास गरेको तर पेरिस सेन्ट–जर्मेन (पिएसजी) नै उनलाई क्लबबाट बिदा गर्न तयार नभएको बार्सिलोनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले बताएका छन् ।

बार्सिलोनाका सिइओ ओस्कार ग्राउले भनेका छन्, ‘हामीले सम्भव भएसम्मका सबै प्रयास गरेका हौँ। शायद पिएसजी नेइमारलाई बेच्ने पक्षमै थिएन ।’ समर ट्रान्सफर विण्डोभर २७ वर्षका नेइमार बार्सिलोना फर्किने चर्चा भयो । तर लगातारको प्रयासका बाबजुद उनी बार्सिलोनामा अनुबन्धित हुन सकेनन् । उनी दुई वर्षअघि विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका हुन् ।

बार्सिलोनाका सिइओ ओस्कारले भनेका छन्, ‘हामीले नेइमारलाई भित्र्याउनका लागि निकै ठूलो प्रयास गरेका हौँ ।’उनले अघि भने , ‘सम्भव भएसम्मका सबै प्रयास गरेका हौँ । हामीले दुईपटक औपचारिक प्रस्ताव नै गर्‍यौँ, जसमा खेलाडीसहित र खेलाडी रहित थियो । तर हामीलाई लाग्यो कि पिएसजी उनलाई क्लबबाट बाहिर पठाउने पक्षमै थिएन ।’

बार्सिलोनाले खेलाडीका सम्बन्धमा कहिले पनि सम्झौता नगर्ने र राम्रा खेलाडी क्लब भित्र्याउने अवसर कसै गरे पनि खेर नफाल्ने प्रयासमा आफूहरु रहने उनले बताए । बार्सिलोना भित्रने प्रयासमा रहेका नेइमार पिएसजीका सुरुका पाँच खेलमा मैदान बाहिर रहे । अनुबन्धन प्रयास असफल भएपछि उनी गएको हप्ता पिएसजीको टिममा फर्किएका छन् ।

उनकै गोलको सहयोगमा पिएसजीले जित निकाले पनि समर्थकले उनी विरुद्ध हल्लाखल्ला गरे । खेलपछि नेइमारले घरेलु मैदानमै हुने खेल पनि आफ्ना लागि अवे मैदानको जस्तै हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्