२९ भदौ, काठमाडौं । खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र मुहानको दुरी करिब ७ सय मिटर छ ।
आरुघाट गाउँपालिका–९ र १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाको १ सय २० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ ।
प्रदेश सरकारबाट निर्मित आयोजनमध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो ।
‘मुहाननजिकै रहेका ट्यांकीमा मोबाइल अपरेटिङ बक्स र बक्सभित्र सिम छ’, उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर श्रेष्ठले भने, ‘मोबाइल एपबाट नम्बर डायल गरेपछि बटन अन हुन्छ, कोड नम्बर हानेपछि पानी चालु भएको संकेत मिल्छ ।’
ट्यांकीमा पानी भए नभएको विद्युतको भोल्टेज पुगे नपुगेको मोबाइलबाट थाहा हुने उनले बताए । कान्तिपुर दैनिकले खबर छापेको छ ।