Logo

बालबालिकालाई कथा सुनाउनुहोस्



कखरा संवाददाता


२८ भदौ, एजेन्सी । अहिलेका बालबालिकाले ‘एकादेशको कथा’ मा कति चाख लिन्छन् ? के उनीहरु बीरबल(अकबरको कथा सुन्न तयार छन् ? के उनीहरु मधु–मालतीको कथामा रुची राख्छन् ? के उनीहरु परीको कथामा रोमाञ्चक हुन्छन् ?

किनभने उनीहरु अहिले साइबर दुनियामा मग्न छन् । स्मार्टफोन भएपछि उनीहरुलाई पुग्छ । भोक, तिर्खा सबै भुल्छन् । दिसा(पिसाब लागेको समेत भेउ पाउँदैनन् । फेसबुकका घण्टौं हराउँछन् । युट्युबमा घण्टौं रमाउँछन् । गेम खेलेर, कार्टुन हेरेर, फेसबुक चलाएर रात गुजार्छन् ।

त्यसैले उनीहरु कसैसँग वातचित गर्दैनन् । सकेसम्म एकान्तमा बस्न रुचाउँछन् । परिवारसँग घुलमिल हुन, साथीभाईसँग खेल्न पनि अल्छी मान्छन् । स्मार्टफोन, ट्याबलेट, ल्यापटमा उनीहरु कतिसम्म लिप्त भएका छन् भने आफ्नै जीवनप्रति वेपर्वाह छन् । प्रविधिप्रतिको यो आशक्तिले बालबालिका रोबोट जस्तै भएका छन् । यस्तो लाग्न थालेको छ कि, उनीहरुभित्र भावना नै छैन । संवेदना नै छैन ।

प्रविधिले उनीहरुलाई अधैर्य र अशान्त बनाएको छ । एक क्लिकमै भेटिने सामाग्रीमा रमाउने बानी परेका उनीहरुलाई अरुको कुरा सुन्ने धैर्यता कतिपनि छैन ।

यसरी सामाजिक सञ्जाल वा डिजिटल प्रविधिमा लिप्त हुँदै गएका बालबालिकालाई कसरी पारिवारिक जीवनमा फर्काउने ? कसरी उनीहरुलाई सामाजिक मूल्य बोध गराउने ? कसरी आफन्त, परिवार, इष्टमित्र घुलमिल गराउने ? अहिलेका आमाबुवाका निम्ति चुनौती हो ।

कथा सुनाउनुहोस्
बालबालिकालाई पारिवारिक जीवनमा फर्काउने एउटा सरल तरिका हो, कथा सुनाउने । कथामा सुन्न बालबालिका लालयित हुन्छन् । यद्यपि अहिले फेसबुक, भिडियो गेमका कारण उनीहरुमा कथाप्रतिको उत्सुकता घट्दै गएको छ । जब तपाईं आफ्ना बालबच्चालाई कथा सुनाउने अभ्यास गर्नुहुन्छ, यसले धेरै किसिमको लाभ दिनेछ ।

पहिलो त, उनीहरुलाई पारिवारिक जीवनमा फर्काउन सहज हुनेछ ।
दोस्रो, सोशल मिडिया एवं भिडियो गेमबाट मुक्त गराउन सकिनेछ ।
तेस्रो, मानविय मूल्य र सामाजिक जीवनबारे वोध गराउन सकिेनछ ।
चौथो, नैतिक शिक्षा र संस्कारबारे अवगत गराउन सकिनेछ ।
पाँचौं, धैर्यतापूर्वक सुन्ने बानीको विकास हुनेछ ।
छैठौं, कल्पनाशिलता र रचनात्मक क्षमता बढ्नेछ ।
सातौं, आपसी संवाद गर्ने बानीको विकास हुनेछ ।

अहिलेका बालबालिका हरेक कुराको नतिजा तुरुन्तै खोज्ने गर्छन् । उनीहरु जसरी गुगलमा कुनैपनि कुराको नतिजा निमेषभरमै खोज्छन्, अरु कुरामा पनि यत्तिकै अधैर्य छन् । जब तपाईं आफ्ना बालबालिकालाई कथा सुनाउने अभ्यास गर्नुहुन्छ, उनीहरुमा क्रमस धैर्य रहन सिक्नेछन् । अरुको कुरा चुपचाप सुन्ने बानीको विकास हुनेछ । कथा सुनाउँदा हुने मूख्य फाइदा भनेको त उनीहरु शोसल मिडिया, भिडियो गेम आदिको लतबाट मुक्त हुनेछन् ।

कस्तो कथा सुनाउने ?
यस्तो कथा सुनाउनुपर्छ, जसले उनीहरुमा उत्सुकता जगाउन सक्छ । उनीहरुमा रुची र चासो जगाउन सक्छ । कथा सुनाउने भनेर उनीहरुलाई बाध्य भने बनाउनु उपयुक्त हुँदैन । यस्तो कथा सुनाउनुपर्छ कि उनीहरुलाई फेरी पनि सुनिरहँु लागोस् । त्यसैले कथा सुरुचीपूर्ण, सरल एवं मिठो हुनुपर्छ ।

कथा प्रेरणादायी हुनुपर्छ । कथा सुनेपछि उनीहरुमा साहस पलाउनुपर्छ । सकारात्मक भाव पैदा हुनुपर्छ । सहयोगी भावनाको विकास हुनुपर्छ । उर्जा र उत्साह मिल्नुपर्छ । नयाँ जानकारी वा ज्ञान आर्जन हुनुपर्छ । यसो भन्दैमा तपाईंले सुनाउने कथा उपदेश जस्तो पट्यारलाग्दो भने हुनुहुँदैन । कथा छोटो, मिठो एवं स्वादिलो हुनुपर्छ । धेरै रहस्यमयी, गहिरो कथा उनीहरुले बुझ्दैनन् ।

बालबालिकालाई पौराणिक कथा सुनाउन सकिन्छ । पञ्चतन्त्रका कथा सुनाउन सकिन्छ । लोक कथाहरु सुनाउन सकिन्छ । यस्ता कथाहरुमा अनौठा घटनाक्रम, अनौठा पात्र हुने भएकाले उनीहरुको स्वभाविक चासो बढ्छ । अतः यस किसिमको कथा हामीसँग अथाह छ । कथाको पुस्तक लिएरै पनि तपाईंले सुनाउन सक्नुहुन्छ । कतिपय कथा भने आफैले कथेर एवं रचेर पनि सुनाउन सकिन्छ । यसरी कथा सुनाइरहँदा उनीहरुका लागि पत्यारलाग्दो भने हुनुपर्छ ।

यी गल्ती नगरौं
कतिपय बालबालिका डरलाग्दो कथा सुन्न आतुर हुन्छन् । वा डरलाग्दो प्रसंग सुनाउनसाथ उनीहरुको ध्यानाकर्षण हुन्छ । तर, डरलाग्दो कथा सुनाउने बानी गर्नु हुँदैन । हिंस्रक, डरलाग्दो कथाले उनीहरुमा भय पैदा गर्छ । यसले अर्को मानसिक समस्या पैदा गरिदिन्छ । टिठलाग्दो कथा पनि बालबालिकाका लागि उपयुक्त हुँदैन । उनीहरुलाई भावुक बनाउने, दुःखी बनाउने कथा सुनाउनु हुँदैन । यसले उनीहरुलाई मानसिक रुपमा कमजोर बनाउँछ ।

कतिबेला सुनाउने ?
जब बालबालिका फुर्सदमा हुन्छन्, उनीहरुलाई कथा सुनाउने गरौं । राती सुत्ने समयमा पनि कथा सुनाउनु उपयुक्त हुन्छ । जब उनीहरु फुर्सदमा हुन्छन् र केही गर्ने बाहना खोजिरहेका हुन्छन्, त्यस्तो बेला उनीहरुलाई कथा सुनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्