Logo

न्यायाधीशलाई महाभियोगको माग



कखरा संवाददाता


२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाउनुभएको छ ।

सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताउनुभयो । उहाँले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा राख्नुभयो ।

सांसद विमला नेपालीले महँगी र भीमसेनदास प्रधानले डेङ्गु रोगको नियन्त्रण गर्न जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद मनकुमारी जिसीले एड्स रोगीलाई बीमा कम्पनीले विभेद गरेको बताउनुभयो भने महेश्वरजङ्ग गहतराजले सडकमा गाईगोरु छाडा छोड्नाले कारवाही गर्न माग गर्नुभयो । सांसद मायादेवी न्यौपाने, मीनाक्षी झा र मैनाकुमारी भण्डारीले महिला तथा बालिकामाथि हुने यौन हिंसा र मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद यज्ञराज सुनुवार, यशोदा सुवेदी, राधा ज्ञवाली, रानी मण्डल, राजबहादुर बुढा, रेखाकुमारी, भरतकुमार शाह र रेणुकाकुमारी गुरुङले पनि समसामायिक विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्