Logo

प्रहरीकै कम्प्युटर ह्याक, गोप्य डकुमेन्ट अर्कैको हातमा



कखरा संवाददाता


१८ भदौ, काठमाडौं । एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो ।

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो । ‘एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन । अनुसन्धान निकै जटिल देखिएको छ,’ स्रोतले भन्यो ।

कम्प्युटरका डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन । केही दिनमै परिणाम आउने अपेक्षामा प्रहरी छ ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्