Logo

बार्सिलोना स्तब्ध, फेरि पनि जित बिहीन



कखरा संवाददाता


१५ भदौ, एजेन्सी । साबिक विजेता बार्सिलोनाले यो सिजन स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शन गरिरहेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा लियोनल मेस्सीको टिम बार्सिलोना अंक बाँड्न बाध्य भएको हो । सातौँ मिनेटमा रोबर्टो टोरेजको गोलबाट ओसासुनाले अग्रता लियो ।

५१ औँ मिनेटमा अन्सु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरे । १६ वर्षका फाती ला लिगामा गोल गर्ने बार्सिलोनाका कम उमेरका खेलाडी बनेका छन् ।

६४ औँ मिनेटमा आर्थर गोल गरेर बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा टोरजले गोल गरेपछि ओसासुनाले २–२ को बराबरी बनायो ।

बराबरीपछि सातौँ स्थानको बार्सिलोनाको तीन खेलबाट चार अंक भएको छ । पाँच अंकसहित ओसासुना पाँचौँ स्थानमा छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा लेभान्टेले रियल भालाडोलिडलाई २–० तथा रियल बेटिसले लेगानेसलाई २–१ ले पराजित गरेको छ । यस्तै गेटाफे र एलाभेसले १–१ को बराबरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्