Logo

भारतीय चन्द्रयान चन्द्रमाभन्दा १ सय ७९ किमीमात्र टाढा



कखरा संवाददाता


१२ भदौ, एजेन्सी । भारतीय चन्द्रयान–२ को आर्बिटर र चन्द्र धरातलबीचको दूरी अब जम्मा १७९ किमी बाँकी छ। मुख्ययान आर्बिटर अहिले चन्द्र धरातलको नजिक हुँदा १७९ किमि र आर्बिटको परिक्रमामा टाढा हुँदा चन्द्र धरातलबाट १४१२ किमि परसम्म पुग्‍ने गरिरहेको छ। इसरोका वैज्ञानिक व्यग्रतापूर्वक ७ सेप्टेम्बरको पर्खाइमा छन्। ७ सेप्टेम्बरको बिहानै १ बजेर ५५ मिनेटमा ‘ल्याण्डर विक्रम’ ले चन्द्र धरातल स्पर्श गर्नेछ। बंगलुरुस्थित नियन्त्रण कक्षमा रहेका वैज्ञानिकले २८ अगस्टको बिहान ९ बजेर ४ मिनेटमा चन्द्रयान–२ को इंजिन प्रज्वलित गर्ने निर्देश पठाए।

पृथ्वीबाट चन्द्रयानसम्म यो सन्देश पुग्न १.२ सेकेण्डको समय लाग्यो। सन्देश पाएर इंजिन प्रज्वलित भयो। प्रज्वलित भएको इंजिनलाई ११९० सेकेण्ड पछि बन्द हुने सन्देश पठाएर यानको इंजिन पुनः बन्द गरियो। अन्तरिक्ष वा चन्द्रयात्रामा यानको इंजिन आवश्यक भएको बेला मात्रै सक्रिय गराइन्छ। इंजिन बन्द भए पनि यानले गति गर्ने, आर्बिटमा घुमिरहने कार्य गुरुत्वाकर्षण बलको कारणले गरिरहन्छ।

२८ अगस्टको बिहान ९ बजेर ४ मिनेटमा यानको इंजिन प्रज्वलित गरेर इसरोको वैज्ञानिक टिमले यानलाई चन्द्रमाको झन तल्लो आर्बिटमा पुर्‍याएका छन्। ११९० सेकेण्ड इंजिन प्रज्वलित भयो, यसै अवधिमा वैज्ञानिकले यानलाई १७९×१४१२ किमिको चन्द्र आर्बिटमा स्थापित गरिदिए। सजिलो भाषामा यसरी बुझौँ– चन्द्रयान–२ अहिले चन्द्रमा माथिको आकाशमा रहेर चन्द्र धरातलको परिक्रमा गरिरहेको छ। परिक्रमा पथमा यात्रा गरिरहँदा यान र चन्द्र धरातलको दुरी कम्ती हुँदा १७९ किमि र अधिकतम दुरी १४१२ किमि सम्म पुग्छ।

खगोलविदले दुई पिण्ड नजिक हुँदाको स्थितिलाई अपोगी र टाढा हुँदाको स्थितिलाई पेरोगी भन्ने गर्छन् । यी शब्द ल्याटिन भाषाबाट आएका हुन्। २२ जुलाईमा पृथ्वीबाट प्रक्षेपण गरिएको चन्द्रयान–२ ले २० अगस्टका दिन चन्द्रमाको आर्बिटमा प्रवेश गरेको थियो। चन्द्र आर्बिटमा प्रवेश गर्दा चन्द्रयान ११४×१८०७२ किमि माथिल्लो आर्बिटमा स्थापित भएको थियो।

२१ अगस्टमा यसको आर्बिट परिवर्तन गरि ११४×४४१२ किमि आर्बिटमा झारियो। यसैगरी अगस्ट २८ मा यानलाई तेस्रो चन्द्र आर्बिटमा स्थापित गराइएको हो।इसरोका अनुसार ३० अगस्टको बेलुका ६–७ को बीचमा यानलाई झन तल्लो चन्द्र आर्बिटमा, १२६× १६४ किमिमा स्थापित गराइनेछ। भारतीय अभियानको सबैभन्दा गाह्रो पक्ष २–३ सेप्टेम्बरमा हुनेछ।

चन्द्र धरातलदेखि १००×१०० को आर्बिटमा रहदा मुख्ययान आर्बिटरबाट चन्द्रमामा ओर्लिने अर्को यान ‘ल्याण्डर विक्रम’ लाई विच्छेद गरी अवतरणका लागि पठाइनेछ। मुख्ययान आर्बिटर भने १०० किमि माथिल्लो आर्बिटमा रहेर परिक्रमा गरिरहनेछ।दुबै यान बेग्लै भएपछि इसरोलाई झनै चुनौती थपिन्छ। मुख्ययान आर्बिटरलाई नियन्त्रण गर्नुका साथै ‘ल्याण्डर विक्रम’ लाई पनि नियन्त्रणमा राख्नु पर्छ।

४ सेप्टेम्बरमा ल्याण्डर विक्रम ३५×९७ किमि माथिल्लो चन्द्र आर्बिटमा पुग्छ।अर्को तीन दिनसम्म यसले यसै ऊचाइबाट चन्द्र परिक्रमा गरिरहन्छ। त्यसपछि यसको (ल्याण्डर विक्रम) इंजिन प्रज्वलित गरी यसलाई अत्यन्त कम गतिमा सञ्चालित गरी चन्द्रमामा ओरालिने छ। अवतरण हुनु पूर्वका अन्तिम १५ मिनेट इसरोका वैज्ञानिकहरुका लागि अत्यन्त चुनौतीपूर्ण हुनेछन्।

चन्द्रमामा अवतरण गर्ने बेलामा ल्याण्डर विक्रमको गति नियन्त्रित गरेर २ मिटर प्रति सेकेण्ड अर्थात ७ किमि प्रति घण्टामा ल्याउनुपर्छ। कुनै पनि चन्द्र अभियानको सबैभन्दा जटिल पक्ष यही नै हो। गति बढी भएमा चन्द्र धरातलसँग ठोक्किएर ल्याण्डर विक्रम ध्वस्त हुनसक्छ।ल्याण्डर विक्रमको चन्द्र अवतरण चन्द्रमाको दक्षिणी ध्रुबस्थित दुईवटा क्रेटर मंजिनस सी र सिमपेलियस एनबीचको मैदानमा हुनेछ।

इसरोसँग चन्द्र आर्बिटमा यान पुर्‍याउने पुरानो अनुभव छ। तर चन्द्रमामा ‘सफ्ट ल्याण्डिङ’ गर्ने उसको यो पहिलो प्रयास हो। यो प्रयास सफल भएमा इसरो चन्द्रमामा ‘सफ्ट ल्याण्डिग’ गर्ने विश्वको चौथो अन्तरिक्ष एजेन्सी बन्‍न पुग्‍नेछ।

प्रतिक्रिया दिनुहोस्