१२ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक ‘कम्युनिष्ट स्टेट’ बन्ने खतरा रहेको बताउनुभएको छ ।
सभापति देउवाले बुधबार ललितपुरमा आयोजित कार्यक्रममा सरकार प्रजातन्त्रको मूलभुत सिद्धान्त मासेको आरोप लगाउनु भयो ।‘सरकारले प्रजातन्त्रको मूलभुत कुरा मास्दै भएकोछ, मुलुक कम्युनिस्ट स्टेट बन्ने खतरा छ’ उहाँले भन्नुभयो, ‘सरकार प्रजातन्त्र विरोधी, मानव अधिकार विरोधी, प्रेस स्वतन्त्रता विरोधी भएको छ ।’
सभापति देउवाले गलत कार्यविरुद्ध कांग्रेसले आन्दोलन गर्दै आएको उल्लेख गर्नुभयो । ‘नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय नै गरेको छ’ उहाँले भन्नुभयो, ‘स्थायी प्रजातन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि फेरि लड्नु पर्ने भएको छ । आन्दोलनमा आउन म सबैलाई आग्रह गर्छु ।’