Logo

कतिञ्जेल धैर्य गर्लान् माधव नेपालले?



कखरा संवाददाता


८ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल एउटा निश्चित समयसीमाभित्र उनको ‘नोट अफ डिसेन्ट’ माथि छलफल नभएमा त्यसलाई आफ्नै हिसाबले अघि बढाउने ‘मुड’मा देखिएका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य नाजुक भएको खण्डमा बाहेक नेपालले एउटा उचित र स्वीकार्य समय अवधिभित्रै ‘नोट अफ डिसेन्ट’ मा छलफलको अपेक्षा राखेको र ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ लगायत मागमा बाँधिई निर्क्यौलमा पुग्नुपर्ने अडान राखेका छन्।

नेपाल निकट एक केन्द्रीय समिति सदस्य अनुसार भदौ ४ गते ओली र नेपालबीच केन्द्रीय सचिवालय बैठकमा अप्रिय रुपमा भनाभन भए पनि त्यसको पृष्ठभूमि त्यसको एक साताअघि नै बनेको थियो।

ती सदस्यका अनुसार सिंगापुरबाट स्वास्थ्य परीक्षण गरी फर्कँदा प्रधानमन्त्री ओलीले जिल्ला कमिटीसँगै केन्द्रीय कमिटीको कार्य विभाजन आफ्नो गुटलाई प्रभुत्व दिने गरी तयार पारेर ल्याएका थिए, जसलाई नेता नेपालले ठाडै अस्वीकार गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपालको त्यो चुनौतीलाई सहज र सकारात्मक रुपमा लिएनन् र दोस्रो पटक उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभन्दा एक दिन पहिला भएको सचिवालय बैठकमा नेपालसँग भनाभनमा उत्रिए, जसलाई नेता नेपालले ओलीको निहित अभिव्यक्तिको संज्ञा दिए।

पार्टीका अर्का प्रभावशाली नेताका अनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालबीच बढेको निकटता या नयाँ समीकरणलाई तोड्ने हिसाबले ओलीले दाहाललाई उनको अनुपस्थितिमा एकल कार्यकारी अधिकार दिए भने त्यसको दुई दिनपछि पार्टीका अर्का प्रभावशाली नेता बामदेव गौतमलाई उपाध्यक्ष नियुक्त गर्ने प्रस्ताव अगाडि सारेर आफ्नो गुटमा भित्र्याए।

प्रत्यक्ष रुपमा ‘नोट अफ डिसेन्ट’ को समर्थनमा नउत्रिए पनि पूर्व उपप्रधानमन्त्री भीम रावलले ओलीको विरोधलाई तिब्रता दिएका छन्, सबैभन्दा यता भारतीय विदेशमन्त्री एस जयशंकरसँग करिब एक घण्टाको गोप्य बैठकलाई लिएर।

‘प्रोटोकल’ को विषय उठाएर पूर्वप्रधानमन्त्री नेपालले जयशंकरलाई भेट्न नमानेको, तर प्रधानमन्त्री ओलीले जयशंकरसँग एक घण्टा गोप्य छलफल गरेको तथ्यलाई कसरी लिने ? रावलले यो विषय सामाजिक सञ्जालमार्फत उठाएका छन्।

प्रधानमन्त्री ओलीविरुद्ध सिधै लक्षित हुने ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’ सँगै पोलिटब्युरो गठनमा भएको ढिलाइ, मुलुकमा बढ्दो भष्टाचार तथा प्रशासन यन्त्रको राजनीतिकरण अनि वैदेशिक मामिलामा देखा परेका विचलन जस्ता विषय उठाएर प्रधानमन्त्री ओलीलाई विधिमा रहेर काम गर्न दबाब दिने रणनीतिमा नेपालपक्ष चुकेको बुझिएको छ।

‘वास्तवमा ओली सिंगापुरतर्फ लागेको भोलिपल्टै नेपाललाई आफ्नो निवास खुमलटारमा बोलाएर आफू दुईबीच फेरि सहमति बनाउनुपर्ने प्रस्ताव दाहालले राखे पनि नेपाल अब आफ्नै समर्थकहरुलाई परिचालित गरी अगाडि बढ्ने तयारीमा छन्,’ सचिवालयका एक सदस्यले भने।

सिंगापुरमा ओलीको स्वास्थ्य परीक्षणको आधिकारिक प्रतिवेदन अवगत भएपछि नेता नेपालले आफ्नो अभियानको समय किटान गर्ने संकेत उनको पक्षलाई दिएका छन। साथै यस बीचमा पहिलोपटक पार्टी निर्णयको अधिकार प्राप्त गरेका दाहालले पनि कसरी काम गर्नेछन् भन्नेबारे पनि नेता नेपालले नजिकबाट नियाल्ने तयारी गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्