Logo

लामो रस्साकस्सीबीच गठित नेकपा स्कुल विभागले सुरु गर्‍यो गतिविधि



कखरा संवाददाता


६ भदाै, काठमाडौं ।  नेतृत्व कसले लिने भन्ने विषयलाई लिएर चर्चित बनेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले सम्हालेको एक सातापछि बिहीबार त्यसको पहिलो बैठक बसेको छ।

विभागका प्रमुख एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको निवासमा झण्डै दुई घन्टा चलेको बैठकमा पार्टीको वैचारिक विषयलाई कसरी पार्टीपंक्तिमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको त्यसका उपप्रमुख देवेन्द्र पौडेल ‘सुनिल’ ले बताए।

पार्टी स्खलित हुदै गएको अवस्थामा वैचारिक प्रष्टता नभई पार्टी अगाडि बढन नसक्ने निष्कर्षसमेत बैठकले निकालेको छ।

पौडेलले बिहीबारको बैठकमा स्कुल विभागको कार्यालय टिम गठन, कोष स्थापनालगायतका विषय कसरी टुंग्याउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए।

उनले भने, ‘पार्टी पंक्तिमा वैचारिक विषय प्रष्ट पार्नु आफैमा महत्वपूर्ण मानिन्छ । त्यसका लागि हामी भोलिदेखि नै अध्यक्षद्वयलगायतका शीर्षनेताहरुलाई भेट्ने र सुझाव संकलन गर्ने कामलाई तिब्रता दिने निर्णय गरेका छौं। साथसाथै आन्तरिक काम पनि अगाडि बढ्नेछन्।’

उनले संकलित सुझावका आधारमा प्रष्ट खाका बनाएर अघि बढ्ने समझदारीसमेत भएको जानकारी दिए।

नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत  आफू र नेता पोखरेलले स्कूल विभाग सन्चालनबारे प्रारम्भिक तर निकै गम्भीर छलफल गरेको जानकारी दिँदै आफूहरुलाई स्कूल विभागको जिम्मेवारी दिने निर्णय गरेकोमा पार्टीप्रति विशेष आभार प्रकट गरेका थिए।

गत शुक्रवार लामो रस्साकस्सीबीच नेकपाको सचिवालयको बैठकले पोखरेल र पौडेललाई स्कूल विभागको प्रमुख र उपप्रमुख जिम्मेवारी दिने निर्णय गरेको थियो।

उक्त विभागका लागि तत्कालिन माओवादीबाट दावी गरिरहेका नारायणकाजी श्रेष्ठलाई प्रचार विभागको प्रमुख दिलाएर पोखरेललाई स्कूल विभागको जिम्मेवारी दिइएको थियो।

आफूले पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाउने प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीबाट आश्वासन पाए पछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रेष्ठलाई स्कूल विभाग प्रमुख बनाउने आफ्नो अडानबाट पछि हटेका थिए।

उक्त विषयका कारण नेकपाको पार्टी एकता प्रक्रिया लम्बिनसमेत पुगेको थियो।

पार्टीभित्र ‘जनताको जनवाद’ लाई वैचारिक सिद्धान्त मान्दै त्यसलाई राजनीतिक प्रतिवेदनमा उल्लेख गर्न सहमति भए पनि मदन भण्डारीद्धारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ को पक्षमा उभिदै आएका पोखरेलले अब स्कूल विभाग कसरी हाक्छन् भन्ने विषयलाई पार्टी पंक्ति र बाहिर पनि चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्