Logo

लिभरपुलको विजयी यात्रा कायम



कखरा संवाददाता


१ भदाै, एजेन्सी । साबिक उपविजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ । अवे मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लियो । ७१ औँ मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै अग्रता दोब्बर पारे । घरेलु टोलीका लागि ८३ औँ मिनेटमा इनग्सले एक गोल फर्काए ।

लिभरपुलको यो प्रिमियर लिगामा लगातार ११ औँ जित हो । अघिल्लो सिजनका पछिल्ला ९ तथा यो सिजनका सुरुका दुई खेलमा उसले जित दर्ता गरेको हो । युरोपियन च्याम्पियन जितपछि ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ ।

यस्तै आर्सनलले पनि जितको यात्रा कायम राखेको छ । उसले शनिबार राति भएको खेलमा बर्नलीलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि १३ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरे । ४३ औँ मिनेटमा बार्नेसले बर्नलीका लागि बराबरी गोल फर्काए । तर ६४ औँ मिनेटमा पिएर एमरिकले गोल गर्दै आर्सनलको जित निश्चित गरेका हुन् ।

आर्सनलले सन् २००९ यता पहिलो पटक प्रिमियर लिगमा सुरुका दुई खेल जितेको हो । जितपछि उसको ६ अंक भएको छ र दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका खेलमा नर्विचले न्युक्यासललाई ३–१, एभर्टनले वाट्फोर्डलाई १–० तथा बोर्नमाउथले एस्टन भिल्लालाई २–१ ले पराजित गरे । यस्तै ब्राइटन र वेष्ट ह्यामले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्