२८ साउन, तम्घास । गुल्मीका एक वडाअध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गर्नुभएको छ।
उहाँले सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा भेट्न जाँदा खाली हात नजान र सुत्केरी अवस्थामा घिउको आवश्यकता पर्ने भएकाले एक साताभित्रमा जाने गरेको उहाँले बताउनुभयो।
सबैको घरमा पौष्टिक आहारा र आर्थिक अवस्था सुदृढ नहुन सक्ने भएकाले यस्तो कार्यको थालनी गरिएको शाहले बताउनुभयो । यो कुनै प्रचारात्मक कार्य नभई सकारात्मक अभियान भएको उहाँको दाबी छ।
आफूले सुत्केरी भेट्न जाँदा घिउ लिएर जाने कार्यलाई निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो। उहाँले यो आर्थिक वर्षमा अहिलेसम्म छ जना सुत्केरीको घरमा एक मानाका दरले घिउ दिएर बधाईसमेत दिनुभएको छ।
महिलालाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्दै आएको र महिलाको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिने गरेको उहाँले बताउनुभयोे । वडा अध्यक्षद्वारा वडामा राम्रो कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन वडा नं. ७ का युवक अनिश ढकालले आग्रह गर्नुभयो। गोरखापत्र दैनिकमा खबर छ ।