Logo

नेकपाको दृष्टिदोष देखेर दया लाग्छ



कखरा संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दृष्टिप्रति खिन्नता व्यक्त गरेको छ ।  पार्टी मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिकोण अनुचित रहेको बताउनुभयो ।

‘पार्टीको केन्द्रीय कार्य समिति बैठक चलिरखेको छ, बैठकबाट पनि त्यसबारे टिप्पणी आउला’ उहाँले भन्नुभयो, ‘अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ ?  दृष्टिदोषमाथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

कांग्रेसले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘निजामती सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयक संविधान विपरीत रहेको जनाएको छ । ‘विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समूहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत छ’ प्रवक्ता शर्माले सम्मेलनमा भन्नुभयो,

ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ तर तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसंग सम्झौता गर्न सकिन्न । नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा छ र रहनेछ ।’

कांग्रेसले गोंगबु बसपार्कको प्रकरणप्रति पार्टीले ध्यान दिएको जनाएको छ । ‘गोंगवु बसपार्कको प्रकरणप्रति पार्टीको गम्भीर ढंगले आकर्षित भएको छ’ शर्माले भन्नुभयो, ‘जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो । अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ । जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनी जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ ।’

प्रतिक्रिया दिनुहोस्